बग्रेल्ती असन्तोष र असन्तुष्टिका पोकाहरू
समाजमा छरपस्ट देख्दा
अराजकता र लोकरिझाइँको कलिलो बिरुवा 
प्रशस्त फक्रिने सम्भावना देखी
धमिलो पानीमा माछा मार्न 
ऊ निरन्तर लागिरहेको छ
न त कञ्चन विगत 
न त स्वच्छ भविष्य
न त कुनै सुधारको चाहना 
न त कुनै विचार 
किनारा नभेटिने समुद्रमा 
विद्रोही मनहरूको डुंगा बनाई 
नाउ खियाइरहेको उसले 
हतारपतारमा
हिजो आफैँले पोतेको
आफ्नो अनुहारको कालो पुछ्न बिर्सिएर 
यात्राको दौरान समुद्री कञ्चन पानीमा 
कालो अनुहार देखिँदा
अत्तालिँदै पानी सार्न थालेको ऊ
त्यही पानीले पखाले मात्र कालो जाने कुरा पनि भुसुक्कै बिर्सिएछ 

गोलो पृथ्वीमा छेउ खोज्न 
घुम्दै गर्दा
हरेक घुम्तीमा 
हिसाब माग्नेहरूको जम्काभेट हुने कुरालाई नकार्न नसकिने 
शाश्वत सत्य पनि उसले 
बिर्सेजस्तो छ ।
सुरेश जोशी-(सैँबु, ललितपुर)
 



