कतार : पत्रकार तिलु शर्मा पौडेल कतारमा सम्मानित भएका छन् । विगत लामो समयदेखि कतारलाई कर्म थलो बनाउँदै पत्रकारितामा सक्रिय रहेका म्याग्दीका पत्रकार पौडेल शुक्रवार नवोदित साहित्यिक वाचनलयको १७ औँ अधिवेशनको अवसरमा सम्मानित भएका हुन् ।
नवोदित साहित्यिक वाचनलय कतारले आयोजना गरेका हरेक कार्यविधि तथा परियोजनालाई फोटोग्राफर तथा सञ्चारको माध्यमबाट अतुलनीय योगदान पुर्याएको भन्दै आयोजक टिमले दोसल्ला ओढाएर सम्मान पत्रसहित सम्मान गरेको हो।

सम्मान पश्चात् पौडेलले आफूलाई सम्मान गर्ने संस्थाका सम्पूर्ण कार्यसमिति पदाधिकारी प्रति आभार व्यक्त गर्दै यो सम्मानले पत्रकारितामा दरिलो भएर कलम चलाउन थप ऊर्जा र हौसला मिलेको बताए ।
विगत एक दशकदेखि पत्रकारितामा सक्रिय पौडेल कतारमा सामुदायिक पत्रकारिता र मजदुरका समस्यामा सत्य तथ्य रूपमा अग्रपङ्क्तिमा रहेर कलम चलाउने पत्रकारको रूपमा चिनिन्छन् ।