उपचारमा फड्को मार्दै क्यान्सर अस्पताल खजुरा


  • उपचारमा फड्को मार्दै क्यान्सर अस्पताल खजुरा

    खजुरा । बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले विभिन्न सेवा सुरु गरेको सानो समयमै ठूलो फड्को मारेको छ । अस्पताल सञ्चालनमा आएपछि क्यान्सर रोगको चेकजाँच तथा उपचारका लागि भारतको लखनउ, दिल्ली, मुम्बई र नेपालको चितवन जानुपर्ने बाध्यताको करिब अन्त्यजस्तै भएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार गत एक वर्षको अवधिमा मात्रै अस्पतालले ५३२ जना बिरामीको शल्यक्रियासहितको उपचार गरेको तथा हिस्टोप्याथोलोजी सेवामार्फत करिब ८०० जना शङ्कास्पद क्यान्सरका बिरामीमा क्यान्सर भए–नभएको यकिन गरिसकेको छ । सर्जरी र हिस्टोप्याथोलोजी सेवा थपिएपछि पश्चिम नेपालका बिरामीले सहजै उपचार सेवा पाउन थालेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिका अध्यक्ष टेकेन्द्र मल्लले जानकारी दिए । उनले क्यान्सर पहिचान भइसकेका बिरामीलाई औषधिमार्फत दिइने किमो सेवालाई पनि निरन्तरता दिइरहेको बताए । अस्पतालमा पछिल्ला दिनहरूमा करिब ३०० जना बिरामीले निरन्तर किमो सेवा लिइरहेका छन् । डेढ वर्षको अवधिमा नौ जना विशेषज्ञ चिकित्सक, छ जना मेडिकल अफिसर र १४ जना स्टाफ नर्स जनशक्तिमार्फत अस्पतालले सेवा दिइरहेको छ । उक्त अस्पतालमा कन्सल्टेन्ट सर्जन र महिला क्यान्सर रोग विशेषज्ञले क्यान्सरका बिरामीलाई शल्यक्रियासहितको उपचार सेवा दिन थालेका छन् । अस्पतालका अनुसार जनरल मेडिसिन, नाक, कान, घाँटी, छाला रोग, स्त्री रोग, उपचार सेवा पनि अस्पतालले विस्तार गरिसकेको छ । गत वर्षसम्म दैनिक २०–२५ जना बिरामी आउने अस्पतालमा पछिल्ला दिनहरूमा १५० जना बिरामी आउन थालेका छन् । बिरामीको सङ्ख्या बढ्दै गएपछि अस्पतालको आम्दानी पनि बढ्दै गएको छ । मासिक एक लाख रुपैयाँ आम्दानी हुने क्यान्सर अस्पतालको आम्दानी हाल दैनिक एक लाख पुगेको छ । अस्पतालका अध्यक्ष मल्लले अस्पतालले क्यान्सरका बिरामीको भित्री सेकाइ गरेर गरिने उपचारका ब्राकिथेरापी सुरु गर्ने तयारी गरिरहेको जनाउँदै माघ महिनाभित्रै ब्राकिथेरापी सुरु गर्ने अस्पतालको लक्ष्य रहेको बताए । उनका अनुसार अस्पतालले ६ शैय्याको आइसीयू सेवा सुरु गर्ने तयारी गरिरहेको छ । त्यसैगरी अस्पतालको शैय्या सङ्ख्या ४० बाट बढाएर १०० शैय्या सय पुर्याउने लक्ष्य रहेको पनि अस्पताल विकास समितिका अध्यक्ष मल्लको भनाई छ । लिन्याक मेसिनका लागि सङ्घीय सरकारबाट २९ करोड ४० लाख बजेट सुनिश्चत भएर खरिदको प्रक्रिया अगाडि बढेकाले केही समयमा रेडियसनथेरापी पनि सुरु हुनेछ । काठमाडौंको नेपाल कोरिया अस्पताल, नेपाल मेडिकल कलेजका महिला क्यान्सर रोग विशेषज्ञ चिकित्सकका साथै नेपालगन्ज मेडिकल कलेज, भेरी अस्पतालका स्त्री रोग विशेषज्ञ र जनरल सर्जन चिकित्सकसँगको सहकार्यमा क्यान्सर अस्पतालले खजुरामै दुरबिन प्रविधिबाट पाठेघर र डिम्बाशयमा क्यान्सर भएका बिरामीको शल्यक्रिया सेवा दिन सुरु गरेको छ । सत्यपाटीबाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *