बागमतीका मुख्यमन्त्रीले माघ ३ मा विश्वासको मत लिने


  • बागमतीका मुख्यमन्त्रीले माघ ३ मा विश्वासको मत लिने

    मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्कट्टेलले आगामी माघ ३ गते संसदबाट विश्वासको मत लिने भएका छन् । गत पुस २५ गते ५ दलको समर्थनमा नेपालको संविधानको धारा १६८ को उपधार (२) बमोजिम मुख्यमन्त्री नियुक्त भएका उनले माघ ३ गते बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिने भएका हुन् । २५ गते नियुक्त भएका मुख्यमन्त्री जम्कट्टेलले २६ गते प्रदेश प्रमुख यादवचन्द्र शर्माबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार सम्हालेका थिए । उनले मुख्यमन्त्री नियुक्त भएको एक साता भित्रै संसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् । बागमती प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाका अनुसार मुख्यमन्त्री जम्कट्टेलको विश्वासको मत लिने सम्बन्धी प्रस्तावबारे प्रदेशसभा सचिवालयमा समेत जानकारी गइसकेको छ । ११० सदस्यीय बागमती प्रदेशसभामा मुख्यमन्त्री जम्मकट्टेल ५ दलका ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए । उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्र केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन गरेका छन् । ३७ सिट रहेको कांग्रेस र ३ सिट रहेको नेमकिपाले भने जम्मकट्टेललाई समर्थन दिएको छैन ।  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *