सचिवको सरुवा र पदस्थापन


  • सचिवको सरुवा र पदस्थापन

    काठमाडौं । सरकारले विभिन्न श्रेणीका कर्मचारीको सरुवा तथा पदस्थापन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले सचिवको सरुवा र कर्मचारीको पदस्थापन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि पुष्करलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सचिव पदमा र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेललाई प्रधानमन्त्री कार्यालयको सचिवमा सरुवा गरिएको छ ।
    प्रधानमन्त्री कार्यालयका सचिव (कानून) धनराज ज्ञवालीलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ भने सो मन्त्रालयका सचिव उदयराज सापकोटालाई प्रधानमन्त्री कार्यालयको सचिव पदमा सरुवा गरिएको छ । मन्त्रिपरिषद् बैठकले न्याय सेवा आयोगको सिफारिसबमोजिम महान्यायाधिवक्ताको कार्यालयका सहन्यायाधिवक्ता गोपालप्रसाद रिमाललाई राजपत्राङ्कित विशिष्ट श्रेणीको नायब महान्यायाधिवक्ता पदमा बढुवा गरी महान्यायाधिवक्ताको कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ । बढुवा समितिको सिफारिसबमोजिम विभिन्न मन्त्रालयअन्तर्गत विभिन्न सेवा-समूह-उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका २३ जना अधिकृतलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव वा सो सरहको पदमा बढुवा गरी पदस्थापन गर्ने बैठकले निर्णय गरेको सञ्चारमन्त्री शर्माले जानकारी दिए । मन्त्रिपरिषद् बैठकले सफा हिमाल अभियान २०२३ मा खटिने नेपाली सेनाका सदस्यलाई हिमाल आरोहण गर्दा लाग्ने सलामी दस्तुर छुट दिने निर्णय गरेको छ । सम्पत्ति शुद्धिकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्मा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *