सुरुङमा फसेका कामदारको १७ दिनपछि उद्धार


  • सुरुङमा फसेका कामदारको १७ दिनपछि उद्धार

    भारत । भारतको उत्तराखण्डमा निर्माणाधिन सुरुङमा फसेका ४१ कामदारको १७ दिनपछि सकुशल उद्धार भएको छ । उत्तरकाशीमा भत्किएको सिल्कियारा सुरुङमा १७ दिनदेखि फसेका ४१ कामदारलाई मंगलबार सकुशल उद्धार गरिएको हो । उनीहरुलाई उद्धार पश्चात अस्पताल भर्ना गरी स्वास्थ्य जाँचसमेत गरिएको छ ।

    दुई हप्ताभन्दा बढीको लगातारको प्रयासपछि उनीहरूलाई बाहिर निकालिएको हो । सुरुङ बनाउने विशेषज्ञहरूले कामदारको उद्धारका लागि सोमबारदेखि म्यानुअल ड्रिलिङ सुरु गरेका थिए । म्यानुअल तेर्सो ड्रिलिङ गरेर उद्धारका लागि पाइप राखिएको थियो । भारतीय सञ्चार माध्यमहरूका अनुसार कामदारहरूलाई निकाल्न ८ सय एमएमको पाइप राखिएको थियो । विदेशी प्राविधिकसहितको टोलीले मजदुरहरूलाई बाहिर निकालेको हो ।

    मंगलबार दिउँसो भारतीय समय अनुसार करिब १:३० बजे प्रदेश सरकारको सूचना विभागका वंशीधर तिवारीले ड्रिलिंग सम्पन्न भएको जानकारी दिएका थिए । उत्तराखण्डको चार धाम मार्गमा निर्माणाधीन सुरुङको भत्किएपछि तेर्सो रूपमा उद्धार सुरुङ खन्नका लागि कम्तीमा १२ जना सुरुङ विशेषज्ञहरूलाई काममा लगाइएको थियो ।



  • शुक्रबार उद्धारका लागि सुरुङ खनिरहेको ठूलो मेसिन अड्किएपछि वैकल्पिक रुपमा म्यानुअल ड्रिलिङ सुरु गरिएको थियो । उनीहरूको उद्धारका लागि प्रदेश तथा संघीय सरकारले विभिन्न उपायहरू अपनाए पनि त्यो सफल हुन सकेको थिएन । उद्धारका लागि बिच्छाइएको पाइपबाट एक(एक जना गरेर कामदारहरू बाहिर निक्लिएका थिए ।

    काम गरिरहेका बेला गत नोभेम्बर १२ मा पहिरोले सुरुङ पुरिएपछि कामदारहरू भित्रै थुनिएका थिए । उक्त सुरुङ प्रधानमन्त्री मोदीको सडक परियोजनाको एउटा भाग हो ।

    आफूहरूले निर्माण गरिरहेको सुरुङ भत्किएर सुरुङभित्रै १७ दिनसम्म फसेपछि जीवितै उद्धार गरिएका भारतीय कामदारहरूले कठिन परीक्षाको त्रास, आशा र प्रार्थनाले उनीहरूलाई बलियो बनाएको बताएका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *