उत्तर प्रदेशमा फेरि अर्की दलित युवतीको सामूहिक बलात्कारपछि हत्या


  • उत्तर प्रदेशमा फेरि अर्की दलित युवतीको सामूहिक बलात्कारपछि हत्या
  • काठमाडौं १५, असोज । भारतको उत्तर प्रदेशमा लगातार सामूहिक बलात्कारपछि हत्याका घटना भइरहेका छन् । हाथरसमा सामूहिक बलात्कारको घटनाले पूरै भारतभर प्रदर्शन भइरहेको छ । मानिसहरु आक्रोशित छन् । हाथरसको घटना सेलाउन नपाउँदै उत्तर प्रदेशकै बलरामपुरमा एक दलित युवतीको सामूहिक बलात्कारपछि हत्या भएको घटना सार्वजनिक भएको छ । युवतीका परिवारका सदस्यले बलरामपुर प्रहरी चौकीमा सामूहिक बलात्कारपछि हत्या भएको उजुरी दिएका छन् । प्रहरीले ट्वीट मार्फत सामूहिक बलात्कारपछि हत्या भएको उजुरी परेको जानकारी दिएको हो । प्रहरीले भनेको छ, ‘तहरीरमा २२ वर्षकी युवतीका परिवारका सदस्यले भनेका छन् कि ती युवती एक निजी फर्ममा काम गर्थिन् । मंगलबार कामबाट राति अबेरसम्म पनि फर्किइनन् । परिवारका सदस्यले फोन सम्पर्क गर्ने प्रयास गरे । तर भएन । केही समयपछि युवती रिक्सामा आइन्, उनको अवस्था निकै खराब थियो । परिवारले उनलाई तत्काल अस्पताल लैजाँदै थिए, बाटोमै मृत्यु भयो ।’ परिवारका सदस्यले उजुरीमा दुई युवाको नाम किटान गरेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै अभियुक्तलाई पक्राउ गरेको छ । अनुसन्धान जारी रहेको र थप अभियुक्तहरुलाई पनि पक्राउ गरिने प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । हाथरस सामूहिक बलात्कारको घटना लगत्तै उत्तर प्रदेशकै बलरामपुरमा सामूहिक बलात्कारपछि हत्याको अर्को घटना सार्वजनिक भएपछि मुख्यमन्त्री योगी आदित्यनाथको राजीनामा माग थप चर्को बनेको छ । उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवले ट्वीट गरेर दुवै घटनाको निन्दा गर्दै लेखेका छन्, ‘भाजपा सरकारले बलरामपुरमा हाथरस जस्तो लापरवाही र ढाकछोप नगरोस्, अपराधिलाई कारवाही होस् ।’ यस्तै आम आदमी पार्टीका नेता सञ्जय सिंहले मुख्यमन्त्री आदित्यनाथको राजीनामा मागेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *