नेपालगन्ज म्याराथनको रुट अन्तराष्ट्रिय मापदण्डको हुने


  • नेपालगन्ज म्याराथनको रुट अन्तराष्ट्रिय मापदण्डको हुने

    नेपालगन्ज । धारा नेपालगन्ज म्याराथनको रुट अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ । विश्व एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ(एम्स) का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमबार नेपालगन्ज म्याराथनको रुट नापी गरेका छन् । नेपालगन्ज उपमहानगरपालिकाको प्रवेशद्वारबाट सुरु हुने नेपालगन्ज म्याराथन जानकी गाउँपालिकाको केही क्षेत्र हुँदै कोहलपुर नगरपालिकाको कार्यालयदेखि केही अगाडि(बानियाभार) भएर पुनः सोही रुट भइ बीपी चोकस्थित सोही ठाउँमा आएर टुंगिने गरेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले  रुट मापनका लागि आमिर सान्डिवानलाई नेपालगन्जमा स्वागत गर्दै सफलताको शुभकामना दिए । ‘नेपालगन्ज म्याराथनमार्फत अन्तर्राष्ट्रिय मञ्चमा नेपालगन्जको ब्रान्डिङ हुन लागेकोमा निकै खुशी लागेको छ,’ मेयर बिष्टले भने, ‘उपमहानगरपालिका हरेक पक्षमा सहयोग गर्न तयार छ ।’ म्याराथनको आधिकारीक दौडको दुरी ४२.१९५ किलोमिटर हो । नेपालगन्ज म्याराथनमा महिलाका लागि हाफ म्याराथन, दश किलोमिटर पुरुष खुल्ला, पाँच किलोमिटर महिला खुल्ला तथा स्कुलस्तरीय छात्र एवं छात्रा दौड समावेश गरिएको छ । यसमा म्याराथन, हाफ म्याराथन, दश किलोमिटर र पाँच किलोमिटर अलग अलग सर्टिफिकेट आउने सान्डिवानले बताए । रुट मापनको सुरुवाती चरणमा नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्ना, बाँके जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सन्दीपजंग शाह, नेपाल प्रहरी र ट्राफिक प्रहरीका प्रतिनिधि समेत थिए । एम्सको मान्यतापछि रुट अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछ । ‘एम्सबाट सर्टिफाइड भएपछि विदेशीहरु प्नि आउने सम्भावना बढ्ने भएकोले यहाँको पर्यटन प्रवद्र्धनमा ठुलो टेवा पुग्ने अपेक्षा लिएको छु,’ मेयर बिष्टले भने, ‘यसले खेलकुद र पर्यटन सँगसँगै विकास हुने भएपछि हामी सबैको खुशीको कुरा हो ।’ नेपालगन्ज म्याराथन हरेक वर्ष मंसिर महिनाको पहिलो शनिबार आयोजना हुने गर्दछ । यस बर्ष मंसिर ३ गते तय भइ तयारी अघि बढेको थिए । आमनिर्वाचनको मिति घोषणासँगै आयोजक क्रियटिभ ह्याण्ड्सले तीन साता पछि सार्दै मंसिर २४ गते शनिबार आयोजना गर्ने तयारी गरेको छ । सरकार र तत्कालीन नेकपा माओवादीबीच मंसिर ५ गते भएको बृहत शान्ति सम्झौताको दिनलाई स्मरण गर्दै मंसिरको पहिलो साता म्याराथन आयोजना हुँदै आएको छ । यसपटक मंसिर ४ गते संघीय र प्रदेशको निर्वाचनका कारण तीन सातापछि सारिएको हो । ‘लोकतन्त्रमा आमनिर्वाचन महापर्व हो, महापर्व आम मानिसको चासोको बिषय हो ।’ म्याराथन संस्थापक टीएस ठकुरीले भने –‘तसर्थ म्याराथनको मिति सार्ने निर्णय गरेका हौं ।’ सान्डिवानले यसै साता काठमाडौं म्याराथन र पोखरा म्याराथनको समेत नाप लिइसकेका छन् । अब नेपालमा तीन वटा म्याराथन अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *