१२८ सांसदका लागि ५ सय बढी उम्मेदवार, प्रदेश सभामा ८८३


  • १२८ सांसदका लागि ५ सय बढी उम्मेदवार, प्रदेश सभामा ८८३

    १६ कात्तिक, काठमाडौं । प्रतिनिधिसभाका १५८ सिटमा आगामी मंसिर २१ गते हुने निर्वाचनका लागि विहीबार ५२२ जनाको उम्मेदवारी परेको छ । त्यसैगरी २५६ जना प्रदेशसभा सदस्यका लागि ८८३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार विहीबार साँझ ६ बजेसम्मको तथ्यांकअनुसार प्रतिनिधिसभातर्फ ५२२ र प्रदेशसभातर्फ ८८३ जनाको उम्मेदवारी परेको हो । कतिपय जिल्लामा उम्मेदवारी दर्ताको क्रम साँझसम्म जारी रहेकाले यो संख्या अझै केही बढ्न सक्ने आयोगले जनाएको छ । प्रतिनिधिसभाका कुल १६५ सिटमध्ये ३७ सिटमा कात्तिक ५ गते नै मनोनयन दर्ता भइसकेको छ । त्यसैगरी ३२ जिल्लाका ७४ प्रदेशसभा सिटमा पनि कात्तिक ५ नै मनोनयन दर्ता भइसकेको छ । पहिलो चरणमा मनोनयन दर्ता भएका ३२ जिल्लामा मंसिर १० गते मतदान हुनेछ । विहीबार मनोनयन दर्ता भएका ४५ जिल्लामा मंसिर २१ गते मतदान हुनेछ । पाँच जना पूर्वप्रधानमन्त्रीले मनोनयन दर्ता गराए आगामी आम चुनावका लागि विहीबारमात्रै चारजना पूर्वप्रधानमन्त्रीले उम्मेदवारी दर्ता गरे । पूर्वप्रधानमन्त्री केपी ओलीले झापा ५ बाट आफ्नो उम्मेदवारी दर्ता गरे भने पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलाम १ बाट उम्मदेवारी दर्ता गरे । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले काठमाडौं २ र प्रचण्डले चितवन ३ बाट विहीबार उम्मेदवारी दर्ता गराए । अर्का पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा २ बाट यसअघि नै उम्मेदवारी दर्ता गरिसकेका छन् । बहालवाला प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार डडेलधुराबाट उम्मेदवारी दर्ता गरेका छन् । पूर्वप्रधानमन्त्री र बहालवाला प्रधानमन्त्री भावी प्रधानमन्त्रीका दाबेदार पनि हुन् । तर, यसपालि एउटामात्रै चुनाव क्षेत्रमा प्रतिस्पर्धा गर्नुपर्ने भएकाले उनीहरु जित्नै पर्ने दबावमा छन् । भाग्य परीक्षामा सबै शीर्ष नेता नयाँ संविधान बनेपछि हुन लागेको पहिलो आम चुनावमा आफ्नो भाग्यको परीक्षाका लागि प्रमुख दलका सबै शीर्ष नेताहरु चुनावी मैदानमा उत्रिएका छन् । कांग्रेस नेता रामचन्द्र पौडेल तनहुँ १, विमलेन्द्र निधि धनुषा ३ र प्रकाशमान सिंहले काठमाडौं १ बाट मनोनयन दर्ता गरेका छन् । कृष्ण सिटौलाले झापा ३ बाट उम्मेदवारी दिएका छन् । त्यसैगरी डा. रामशशरण महत र अर्जुननरसिंह केसी नुवाकोटबाट चुनाव लड्दैछन् भने युवा नेता गगठन थापाले काठमाडौं ४ बाट उम्मदेवारी दर्ता गरेका छन् । एमालेका शीर्ष नेतामध्ये पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले इलामबाट उम्मेदवारी दर्ता गरेका छन् । महासचिव ईश्वर पोखरेलले काठमाडौं ५ बाट मनोनयन दर्ता गरेका छन् । उपाध्यक्ष वामदेव गौतमले बर्दिया १ बाट उम्मेदवारी दर्ता गरेका छन् । उपमहासचिव विष्णु पौडेल रुपन्देही २ बाट र धनश्याम भुसालले रुपन्देही ३ बाट मनोनयन दर्ता गरेका छन् । एमाले सचिव गोकर्ण विष्ट र प्रदीप ज्ञवालीले गुल्मीबाट उम्मेदवारी दिएका छन् भने अर्का सचिव योगेश भट्टराईले ताप्लेजुङबाट उम्मेदवारी दर्ता गरेका छन् । एमालेसँग गठबन्धन गरेका माओवादी नेताहरुमध्ये नारायणकाजी श्रेष्ठले यसअघि नै गोरखा २ बाट उम्मेदवारी दर्ता गरिसकेका छन् । पार्टी प्रवक्ता पम्फा भुसालले ललितपुर ३ बाट उम्मेदवारी दर्ता गराएकी छिन् । रामबहादुर थापाले भने उम्मेदवारी दर्ता गरेनन् । अन्य दलका नेताहरुमध्ये राप्रपा अध्यक्ष कमल थापाले मकवानपुर १ बाट उम्मेदवारी दर्ता गराएका छन् । उनलाई नेपाली कांग्रेसले साथ दिएको छ । मधेसकेन्दि्रत दलका नेताहरुमध्ये उपेन्द्र यादवले सप्तरी २ मा मनोनयन दर्ता गरेका छन् भने महन्थ ठाकुरले महोत्तरी ३ बाट र राजेन्द्र महतोले धनुषा ३ बाट उम्मेदवारी दिएका छन् । त्यस्तै शरदसिंह भण्डारीले महोत्तरी २ र महेन्द्र राय यादवले सर्लाही २ बाट उम्मेदवारी दिएका छन् । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले भने उम्मेदवारी दिएनन् । उनले युवापुस्तालाई छाडेको प्रतिक्रिया दिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *