केरलामा विमान दुई टुक्राः दुई पाइलटसहित १७ जनाको मृत्यु


  • केरलामा विमान दुई टुक्राः दुई पाइलटसहित १७ जनाको मृत्यु
  • दिल्ली २३ साउन । भारत केरलाको कोझिकोड विमानस्थलमा एयर इन्डिया एक्सप्रेसको विमान दुर्घटना हुँदा दुई पाइलटसहित १७ जनाको ज्यान गएको छ । चालक दलका अरु चार सदस्य भने जीवित रहन सफल भएका छन् । दुबईबाट केरला आएको विमानमा चालक दलका सदस्यसहित १९० जना सवार थिए । विमानमा यात्रु मध्ये १० बालबालिका पनि रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । दुर्घटनामा घाइते भएका १६० यात्रु मध्ये २५ जनाको अवस्था गम्भीर रहेको भारतको नागरिक उड्डयन मन्त्रालयले उल्लेख गरेको छ । विमानमा रोजगारी तथा घुम्नका लागि दुबई गएर कोरोना भाइरसको महामारीका कारण उतै रोकिएका यात्रु थिए । भारतीय सञ्चारमाध्यमका अनुसार यात्रु मध्ये २६ जनाको रोजगारी गुमेको तथा २८ जनाको भिसा अवधि सकिएको थियो । सोही कारण उनीहरु भारत फर्किएका थिए । यस्तै ५४ जना घुम्न गएर महामारीका कारण उतै फसेकाहरु थिए भने स्वास्थ्य अवस्थाका कारण फर्किएका ६ तथा विवाहका लागि फर्किएका तीनजना थिए । स्थानीय समय अनुसार शुक्रबार बेलुका सात बजेर ४१ मिनेटमा अवतरणको क्रममा विमान दुर्घटना भएको हो । रनवेबाट बाहिर गएको विमान दुई टुक्रा भए पनि आगो लागेको थिएन । दुर्घटनाको छानबिनका लागि दुईवटा समिति बनाइएको नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *