पहिलोपटक नेपालमा पाठेघर क्यान्सरविरुद्धको खोप लगाउन सुरु


  • पहिलोपटक नेपालमा पाठेघर क्यान्सरविरुद्धको खोप लगाउन सुरु

    काठमाडौं । सरकारले पाठेघरको मुखको क्यान्सरविरुद्ध (एचपीभी) खोप दिन सुरु गरेको छ । आज स्वास्थ्यमन्त्री मोहन बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीबाट खोपको औपचारिक उद्घाटन गरेका हुन् ।

    नेपालमा पहिलोपटक डेमोस्ट्रेसनका रुपमा १४ पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई यो खोप दिन सुरु गरिएको हो ।
    सुरु भएको खोप कार्यक्रम सातै प्रदेशका प्रदेश स्तरीय अस्पतालबाट दिइनेछ । 

    पहिलो चरणमा नौ हजार ५ सय किशोरीलाई खोप दिइने परिवार कल्याण महाशाखा अन्तर्गतको खोप शाखाले जनाएको छ ।
    एचपीभी खोप २०६५ भदौ ३० देखि २०६६ भदौ ३० गतेसम्म जन्म मिति भएका किशोरीले मात्र खोप लगाउन पाउनेछन् ।

    खोप लगाउन उमेर खुल्ने प्रमाण लिएर आउन आग्रह गरिएको छ । एचपीभी खोप अभियान पहिलो चरणमा सात प्रदेशका सात अस्पतालबाट लगाउन पाइने छ । 



  • स्वास्थ्य मन्त्रालयका अनुसार प्रसूति गृहसहित कोसी प्रदेशमा कोसी अस्पताल, मधेस प्रदेशमा नारायण अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल नेपालगञ्ज, कर्णाली प्रदेशमा प्रदेश अस्पताल वीरेन्द्रनगर र सुदूरपश्चिम प्रदेशमा डडेलधुरा अस्पतालमा एचपीभी खोप लगाउन पाइनेछ ।

    एचपीभीविरुद्धको खोपले पाठेघरको क्यान्सरविरुद्ध काम गर्छ । प्रजनन् उमेरमा प्रवेश गर्दै गरेका र सेक्सुअल कन्ट्याकमा नआएका किशोरीलाई लक्षित गरी खोप दिन लागिएको हो । यो खोप ६ महिनाको अन्तरालमा दुई डोज लगाउनु पर्छ ।

    खोप लगाउन जन्ममिति खुल्ने कागजात लिएर तोकिएका अस्पताल पुग्नुपर्ने हुन्छ । डोज पूरा गरेकाहरुमा एचपीभीबाट हुने संक्रमणबाट बच्ने सम्भावना ९५ प्रतिशतसम्म हुने खोप महाशाखाले जनाएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *