सुरु भयो यमपञ्चक, आज कागको पूजा गरिँदै


  • सुरु भयो यमपञ्चक, आज कागको पूजा गरिँदै

    काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने नेपाली हिन्दूहरूको दोस्रो ठूलो चाड यमपञ्चकअर्थात् तिहार आजदेखि सुरु भएको छ ।

    नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज बेलुकी यमदीपदान सुरु गर्नुपर्ने हुन्छ । यमपञ्चकको पहिलो दिन आज काग तिहार परेको छ । बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने समितिले जनाएको छ ।

    समितिका अध्यक्ष श्री कृष्ण अधिकारीले कार्तिक कृष्ण त्रयोदशीमा सूर्योदय भएका दिन काग तिहार मनाउने भएकाले आजदेखि यमपञ्चक सुरु भएको बताए । उनका अनुसार सायंकालमा त्रयोदशी भएका दिन यमदीपदान सुरु गर्नुपर्ने र प्रातः कालमा त्रयोदशी भएका दिन काग तिहार मनाउनुपर्ने शास्त्रीय व्यवस्थाअनुसार यस्तो निर्णय गरिएको हो ।



  • यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयाअर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ । यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनि आजै परेको छ । तिथिको घटबढका कारण आइतबार कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेको समितिले जनाएको छ ।

    कात्तिक २६ गते आइतबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए ।

    गाईपूजा कात्तिक २७ गते सोमबार परेको छ । गोरुपूजा, हलितिहार, गोवद्र्धनपूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक २८ गते मङ्गलबार परेको छ ।प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४४ पनि यसै दिनदेखि सुरु हुन्छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *