‘रुम टु रिड’को बालिका शिक्षा कार्यक्रमले प्रभात माविका बालिकामा ल्याएको परिवर्तन


  • 'रुम टु रिड'को बालिका शिक्षा कार्यक्रमले प्रभात माविका बालिकामा ल्याएको परिवर्तन

    ज्ञानु संगम खड्का/ नेपालगन्ज : शुक्रबार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित प्रभात नमुना माध्यामिक विद्यालयको एक कक्षा कोठामा १५ जना बालिकाहरु गोल भएर मिलेर बसिरहेका देखिन्थे। कक्षा कोठा शान्त थियो। सबै बालिकाहरु अनुशासित भएर बसिरहेका थिए।

    बुझ्दा, उनीहरू 'रुम टु रिड'द्वारा आयोजित 'खुल्ला अन्तरक्रिया कार्यक्रम'को लागि उपस्थित हुनको लागि उक्त कोठामा बसेका रहेछन्। १५ जनासँगै भएपनि हल्ला नगरि बसिरहेका उनीहरू प्रभात माविका छात्राहरु रहेछन्। हाल उनीहरू मध्ये कोही कक्षा ६ मा र कोही कक्षा ७ मा पढ्दा रहेछन्।

    'रुम टु रिड' संस्थाद्वारा उक्त विद्यालयमा संचालन गरिएको बालिका शिक्षा कार्यक्रममा प्रभात माविका कक्षा ६ र ७ मा अध्ययनरत ३९ छात्राहरु आवद्ध छन्। 'रुम टु रिड'का 'जीवनोपयोगी सीप शिक्षा तालिम', 'मेन्टोरिङ' र 'जलवायु परिवर्तन' सत्रहरुमा सहभागी भएर आजसम्म बालिकाहरुले के-के कुराहरू सिके त ? के-के कुराहरु बुझे ? कस्तो खालको परिवर्तन आयो त ? भन्ने कुरालाई मध्यनजर गर्दै शुक्रबार संयुक्त अनुगमन गोष्ठी आयोजना गरिएको थियो।

    उक्त 'रुम टु रिड'को बालिका शिक्षा कार्यक्रमको लाभ ३९ जना छात्राहरुले लिइरहेको भएपनि शुक्रबारको अन्तरक्रिया कार्यक्रममा चाहिँ १५ जना बालिकाहरु सहभागी थिए। त्यसो त, विभिन्न सरोकारवाला व्यक्तिहरुको पनि उपस्तिथि थियो। करिब २ घण्टा बढी अन्तरक्रिया चलेको थियो।

    खुल्ला अन्तरक्रिया कार्यक्रम भएकोले छात्राहरुसँग सरोकारवाला व्यक्तिहरुले अनौपचारिक कुराकानी गरेका थिए। कुराकानीका क्रममा 'रुम टु रिड'को बालिका शिक्षा कार्यक्रमले आफूहरुमा धेरै परिवर्तन आएको छात्राहरूले बताए।

    'पहिला विद्यालय आउन छोडेर गाउँघरका विभिन्न विवाह, भोज, मेला लगायतका कार्यक्रममा गएर पढाई छुटाईन्थ्यो', कक्षा ७ कि छात्रा सुजाता जैसीले भनिन् , 'अहिले त मलाई आफ्नो पढाई निकै महत्वपूर्ण लाग्छ। अहिले बरु गाउँका कार्यक्रम छोडेर निरन्तर विद्यालय आएर पढ्न मन लाग्छ। यो सबै परिवर्तन रुम टु रिड संस्थाले प्रदान गरेको जीवनोपयोगी सिपकै कारणले भएको हो।'

    सुजाताको यो अनुभवले अन्तरक्रियामा उपस्थित सबैजनाले खुशी हुँदै ताली बजाएका थिए। १५ जना सबै छात्राहरुलाई बालिका शिक्षा कार्यक्रमले कस्तो परिवर्तन ल्यायो त ? भनेर सोधिएको थियो। सबै छात्राहरुले आ-आफ्नो अनुभव सुनाएका थिए। सबै छात्राहरुले सकारात्मक परिवर्तन ल्याएको तर्क गरेका थिए।

    त्यस्तै, कक्षा ७ कै छात्रा चेतना बुढाक्षेत्रीको अनुभव पनि उस्तै छ। पहिला अरुको अगाडि बोल्न नसक्ने चेतना जीवनोपयोगी सिपकै सत्रले गर्दा अहिले सबैको सामु निर्धक्कका साथ बोल्न सक्छिन्। मनमा लागेका कुराहरु राख्न सक्छिन्।हरेक कुराहरुका फाइदा बेफाइदाहरु राम्रोसँग केलाउन सक्छिन्।

    'सुरु-सुरुमा चाउचाउ खाएपछि, मिठाई खाएपछि प्लास्टिकका खोलहरु जथाभावी फालिन्थ्यो, केही वास्ता लाग्थेन', चेतनाले अन्तरक्रिया कार्यक्रममा आफ्नो अनुभव सुनाउँदै भनिन्, 'रुम टु रिडको जलवायु परिवर्तन सत्रले अहिले धेरै कुरा सिकायो। अहिले चाहिँ कुहिने र नकुहिने फोहोर छुट्याएर राख्ने बानी बसेको छ मेरो। मैले यहाँ सिकेका कुराहरू घरमा आमा-बुवालाई पनि सिकाउने गरेकी छु। जसले गर्दा घरमा फोहोर जलाउनुको साटो छुट्याएर राख्ने गर्छौं।'



  • चेतनाले यति मात्रै कुरा सिकेकी छैनन्। उनले त जीवनोपयोगी सिपले गर्दा अनुशासनमा रहन, व्यवहारिक हुन, अरुलाई इज्जत गर्न, इमानदार हुन, आफूले जानेको कुरा अरुलाई सिकाउन लगायतका धेरै कुराहरु सिकेकी छिन्।

    सुजाता र चेतनाका अलावा अन्य छात्राहरुले पनि आफूमा धेरै परिवर्तन आएको सुनाए। उनीहरूको परिवर्तन त प्रभातकै प्रधानाध्यापक नगेन्द्रराज सुवेदीले पनि स्विकारे। बालिका शिक्षा कार्यक्रममा सहभागी भएका बालिकाहरु पहिले भन्दा अहिले निकै ज्ञानी र अनुशासित भएको प्रधानाध्यापक सुवेदीले बताए।

    यसरी, 'रुम टु रिड'को बालिका शिक्षा कार्यक्रम निकै लाभदायक भएकोले यो कार्यक्रमलाई अझै निरन्तरता दिन प्रभात नमुना माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दल बहादुर सुनारको आग्रह थियो। बालिका शिक्षा कार्यक्रमले आफ्ना छात्राहरूमा सकारात्मक परिवर्तन आएकोले रुम टु रिड संस्थालाई उनले धन्यवाद समेत व्यक्त गरे।

    खुल्ला अन्तरक्रिया कार्यक्रममा वैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, वैजनाथ गाउँपालिकाका प्रशासकीय अधिकृत (शिक्षा शाखा) विश्वराज ढकाल, महिला तथा प्रमुख बालबालिकाका शाखाकी लक्ष्मी ज्ञवाली, शिक्षा शाखा प्राविधिक सहायक शोभा ढकाल, विपद व्यवस्थापन समितिका संयोजक फरिद्दिन हलुवाई, प्रभात ननुमा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर सुनार, बैजनाथ गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष देव बहादुर रावत, प्रभात नमुना माविका प्रधानाध्यापक नगेन्द्र राज सुवेदी र प्रभातकै सहायक प्रधानाध्यापक बाबुराम ज्ञवालीको उपस्तिथि रहेको थियो।

    उसो त, रुम टु रिडका बरिस्ठ फिल्ड व्यवस्थापक खड्ग कुँवर, रुम टु रिडका बरिस्ठ कार्यक्रम अधिकृत सुष्मा राई, रुम टु रिडका प्रोग्राम असिस्टेन्ट निरोज कोइराला, रुम टु रिडकै सिनियर प्रोग्राम असिस्टेन्ट निरुपा कटुवालका साथै रुम टु रिडका बरिस्ठ सामाजिक परिचालिका संगीता चौधरी, दिल कुमारी चौधरी, शोभा भण्डारी र निर्मला चौधरीको पनि खुल्ला अन्तरक्रियामा उपस्तिथि रहेको थियो।

    बालिका शिक्षा कार्यक्रमले बालिकाहरुमा राम्रो परिवर्तन आएकोले अब बालकहरुको लागि पनि यस्तो खालको कार्यक्रम ल्याउन प्रभातका प्रधानाध्यापक सुवेदीले रुम टु रिडका पदाधिकारीहरुलाई आग्रह गरेका थिए। अहिले बालिका शिक्षा कार्यक्रम अन्तर्गत प्रभात माविका ७ कक्षाका बालिकाहरुले 'जलवायु परिवर्तन' सत्र सिकिरहेका छन्।

    छोटो समयमै जलवायु परिवर्तन सम्बन्धि बालिकाहरुले राम्रो ज्ञान लिन सफल भएको भन्दै राम्रो बिरुवा लगाउने बालिकाहरुलाई उचित पुरस्कारको व्यवस्था रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनारले घोषणा समेत गरे। साथै, बालिका शिक्षा कार्यक्रममा सहभागी भएका छात्राहरू मध्य कक्षामा प्रथम हुने छात्रा र पढाउने मेडमलाई समेत उचित पुरस्कार प्रदान गरिने सुनारको उद्घोष रहेको थियो।

    साथै, आगामी दिनमा बालिका शिक्षा कार्यक्रममा सहभागी भएका बालिकाहरुसँगै अभिभावकहरुलाई समेत अन्तरक्रिया कार्यक्रममा बोलाएर साक्षात्कार गराउन रुम टु रिडलाई सबैको आग्रह समेत रहेको थियो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *