माघ १५ मा ९ औँ डाँफे कप फूटबल, थापाद्वारा प्रथम पुरस्कार प्रायोजन


  • माघ १५ मा ९ औँ डाँफे कप फूटबल, थापाद्वारा प्रथम पुरस्कार प्रायोजन

    खजुरा : बाँकेकै जेठो क्लबहरुमध्यको 'न्यू डाँफे स्पार्टस् क्लव खजुरा'ले डाँफे कप फुटबल प्रतियोगिताको ९ औं श्रृंखला आयोजना गर्ने भएको छ । क्लवले यही माघ १५ गतेबाट बाँकेको खजुरा ४ डि गाउँ स्थित मिनी रंगशालामा ९ औँ डाँफे कप फूटबल प्रतियोगिता आयोजना गर्ने भएको हो ।

    नक आउट फूटबल प्रतियोगितामा आज सम्ममा १६ वटा क्लवहरुले सहभागीता सुनिश्चितता गरिसकेको क्लवले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिएको छ ।  ए डिभिजनको फुटबलको खेलाडी जन्माइसकेको न्यु डाँफे स्पोर्टस् क्लव २०३८ सालमा स्वर्गिय गज बहादुर सिंजालीको अध्यक्षतामा गठन भएको क्लव हो ।

    पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताका संयोजक तिलबिर सुनारले क्लवको आफ्नो स्थायी स्रोत नभएपनि ९ औं श्रृंखला सम्म दाताहरुको सहयोगबाट प्रतियोगिता संचालन गर्दै आएको जानकारी दिए । उनले यस वर्षको प्रतियोगितामा पनि बिभिन्न दाताहरुबाट सहयोगको आश्वासन प्राप्त भएको जनाउँदै आगामी दिनमा क्लवको स्थायी स्रोत बनाइने बताए ।

    संयोजक सुनारका अनुसार प्रतियोगितामा प्रथम हुनेलाई एकलाख ५५ हजार ५५५ र द्वितीयलाई ८५ हजार ५५५ रुपिया नगद पुरस्कार र मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५०० रुपिया प्रदान गरिने क्लबका अध्यक्ष हरिप्रकाश बिकले जानकारी दिए ।



  • प्रथम पुरस्कर खजुरा ४  डि गाउँ स्थायी घर भइ हाल अमेरिकामा रहेका लिलबहादुर थापाले ब्यक्तिगत रुपमा प्रायोजन गर्ने घोषणा गरेको आयोजकले जनाएको छ । बेष्ट स्कोरर, बेष्ट गोलकिपर र सर्वाधिक गोलकर्ताको पुरस्कार भने जिल्ला फुटवल संघले प्रायोजन गर्ने बाँके जिल्ला फुटवल संघका महासचिव कमल खत्रीले बताए ।

    पत्रकार सम्मेलनमा वडा अध्यक्ष टेकबहादुर रोका क्षेत्रीले प्रतियोगितालाई स्थानीय सरकारको पुर्ण साथ रहने प्रतिबद्धता ब्यक्त गरे । उनले खेल सकिएपछि सबै गतिबिधि सकिने परिपाटीलाई अन्त्य गर्न क्लवका पदाधिकारीलाई आग्रह गरे । खेल गतिबिधि निरन्तर संचालन गर्न र क्लवको हिसावकिताव पारदर्शी राखेर चन्दादाताहरुलाई सन्तुष्ट बनाउन उनले आयोजकलाई आग्रह गरे ।

    डाँफे क्लवले फुटबलमा लालबहादुर थापा, बालबिर थापा, शंकरदेव गिरी, यामबहादुर गुरुङ, सुरेश थापा, लोकबहादुर खत्री, अर्जुन थापालगायत राष्ट्रिय खेलाडी उत्पादन गरिसकेको छ ।

    पत्रकार सम्मेलनमा समाजसेवी लिल बहादुर थापाका भाई ग्रिस बहादुर सिंजाली, जिल्ला फुटबल संघका उपाध्यक्ष टोपेन्द्र खत्रि, भुतपुर्व सैनिक विकास समिति बाँकेका उपाध्यक्ष दान बहादुर गुरुङ्ग, न्यु डाँफे बाटै उत्पादन भएका पुर्व राष्ट्रिय खेलाडी सुरेश थापामगर, ए डिभिजन लिग खेलिरहेका खेलाडी दिपेङ्क राज सिंह ठकुरी, क्लबका पदाधिकारी, खेलाडी लगाएतको उपस्थिती रहेको थियो ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *