सुन तस्करी प्रकरण: महरासहित ७ जनाविरुद्ध मुद्धा चलाउन सिफारिस


  • सुन तस्करी प्रकरण: महरासहित ७ जनाविरुद्ध मुद्धा चलाउन सिफारिस

    काठमाडौं । अवैध सुन तस्करी प्रकरण फेरि ब्युँतिएको छ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले बिहीबार गृहमन्त्रीलाई प्रतिवेदन बुझाएपछि यसअघि जोगिएका सात जनालाई मुद्दा चलाइने भएको भएको हो ।

    ६० किलो सुन र भेप प्रकरणमा नेकपा माओवादी केन्द्र उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासहित सात जनालाई मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ । उनीहरुको सुन तस्करीमा संलग्नता देखिएको आयोगको ठहर छ ।

    आयोगले वाल्डो क्यासिनोको अकाउन्ट हेर्ने हङकङका नागरिक टेरेन्सलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ । मेलस्थित चिनियाँ नागरिकको व्यवस्थापनमा सञ्चालित वाल्डो क्यासिनो हङकङ र मकाओमा पनि सञ्चालनमा छ ।

    यस्तै, आयोगले मन्जील श्रेष्ठ, अविनाश रावत र जीवन गुरुङलाई पनि मुद्दा चलाउन सिफारिस गरेको छ । अविनाश विमानस्थल भन्सार कार्यालयका अधिकृत विष्णु पौडेलेका चालक हुन् । उनले भेपमार्फत ल्याएको सुन बेच्न भूमिका खेलेको आरोप छ । जीवन गुरुङ डिल्लीबजारमा सञ्चालित प्लाटिनम कलेजका प्रमुख कार्यकारी अधिकृत हुन् ।



  • हाल गुरुङ १४ किलो सुन तस्करीमा संलग्न आरोपमा थुनामा छन् । गोरखा बारपाक घर भएका ४५ वर्षीय चन्द्र घलेले दुबईबाट ल्याएको १४ किलो सुनमा गुरुङको ‘कनेक्सन’ देखिएपछि केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको थियो । उनको संलग्नता ६० किलोमा पनि देखिएको जाँचबुझ आयोगको ठहर छ ।

    यस्तै, पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका साझेदार एवं साथी सुबु केसीलाई पनि मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ । सुन तस्करी प्रकरणमा जोडिने तथ्य फेला परेको भन्दै आयोगले उनीविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको हो । दावा छिरिङको मोबाइल जाँचमा २० हजार अमेरिकी डलर सुबु प्रताप केसीको अमेरिकास्थित वेल्स फार्गो बैंकमा जम्मा गरेको उल्लेख भएको विवरण छ ।

    यस्तै, यही प्रकरणमा व्यवसायी भीमकान्त भण्डारीलाई पनि मुद्दा चलाउन आयोगले सिफारिस गरेको छ । उनीसँग आयोगले २५ माघमा सिंहदरबारमा पनि बयान लिएको थियो । तर, सीआईबीले अनुसन्धानका क्रममा उनलाई जोगाएको आयोगको बुझाइ छ ।

    ६० किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग पटक–पटक कुराकानी भएको देखिएपछि भण्डारी छानबिनको दायरामा परेका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *