प्रधानमन्त्री ओलीको ‘अग्नि परीक्षा’ भोलि


  • प्रधानमन्त्री ओलीको ‘अग्नि परीक्षा’ भोलि
  • काठमाडौं । नेपाली राजनीतिमा जे बोलिन्छ, त्यो हुँदैन भन्ने आममानिसको बुझाइ छ । र यसलाई चिर्न राजनीतिज्ञहरु सफल भइसकेका छैन । राजनीतिक दलबीच हुने विवाददेखि आन्तरिक किचलोमा रमाउने नेताहरुको क्रियाकलापले नागरिकको विश्वास गुमाइरहेको छ । लामो समयदेखि आन्तरिक किचलोमा फसेको सत्तारुढ नेकपालाई केही घण्टादेखि आशावादी बनाएको छ ।
    विशेषगरी आन्तरिक विवाद समाधान गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार सचिवालय बैठक बोलाएका छन् । उनीमाथि बैठकबाट भागेको आरोप आफ्नै पार्टीका नेताहरुले लगाइरहेका थिए । शुक्रबार अपरान्ह ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने गरी अध्यक्ष ओलीले सचिवालय बैठक बोलाएका हुन् । यसअघि उनलाई बैठक बोलाउन अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले सामूहिक रुपमा दबाब दिँदै आएका थिए । ओली–प्रचण्ड समूहबीचको टकरावले नेकपाको भविष्यप्रति चिन्ता जनाइएका बेला शुक्रबार सचिवालय बैठक डाकिएको हो । बैठक डाक्नु अघि अध्यक्ष ओलीले पार्टीभित्रको समस्या समाधन हुने भन्दै चिन्ता नलिन आग्रह गरे । बिहीबार संखुवासभा पुगेर उनले आफू अध्यक्ष रहेकाले सबै समस्या हल गरेर अघि बढ्ने भन्दै चिन्ता नलिन आग्रह गरे । पार्टीको समस्या समाधान गर्ने वचन दिँदै ओलीले भने, ‘पार्टीभित्रका समस्याहरू, म अध्यक्ष छु तपाईंहरू किन चिन्ता गर्नुहुन्छ?’ आधा शताब्दीदेखिको पार्टी एकीकरण सपना पूरा गर्न आफूले निकै दुःख गरेको भन्दै उनले भने, ‘५० वर्षअगाडि जुँगामा भर्खर रेखी बस्दै थियो अहिले टन्न फुलेको देख्नुहुन्छ । त्यसबेलादेखि टुटेफुटेको पार्टी मिलाउँदै यहाँ पुर्‍याएको हुँ। नजिकै आएर नभेटेकाले कुरा नबूझेकाले अहिले पनि गाली गर्छन्।’ अर्थात उनलाई नबुझेकाले गाली गर्ने ओलीको कथन थियो । जे होस् पार्टीभित्र देखिएको विवाद मिलाएर अघि बढ्ने बताएका ओलीले आफ्ना कार्यकर्ता र आमनागरिकलाई सकारात्मक सन्देश प्रवाह गरे । बुधबार संखुवासभाबाट पार्टी विवाद मिलाउने उद्घोष गरेका प्रधानमन्त्री तथा अध्यक्ष ओलीको सहमतिमा शुक्रबार अपरान्ह ४ बजे बालुवाटारमा बस्ने गरी सचिवालय बैठक बोलाइएको छ । बैठक बोलाइएपछि विवादले तातो नेकपालाई शीतलता प्रदान गरेको छ । तर, यो कतिञ्जेलका लागि हो भन्ने एकीन छैन । बुधबार संखुवासभामा भनेजस्तै शुक्रबार सचिवालय बैठकमा पार्टी विवाद मिलाउने गरी ओली प्रस्तुत होलान्, वा अरु नेताहरुलाई सोहीअनुसार प्रस्तुत हुने वातावरण बनाउलान् ? यसको जवाफ शुक्रबार बैठक बसेपछि पाइनेछ । पार्टी एकीकरणको आधा शताब्दी संघर्ष गरेको बताउने अध्यक्ष ओलीले शुक्रबार बस्ने बैठकबाट पार्टी विवाद मिलाउने वा मिल्ने सन्देश देलान्, यो सर्वत्र चासोको विषय बनेको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *