आगामी निर्वाचनमा ८ अर्व खर्च हुने आयोगको अनुमान


  • आगामी निर्वाचनमा ८ अर्व खर्च हुने आयोगको अनुमान
  • काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखमा गरी दुई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि तयारी थालेको छ । आईतबार राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गर्दै आयोगले प्रनिधिसभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने अनुमान गरेको छ । अर्थ मन्त्रालयका सचिवसहितसँग निर्वाचन खर्चबारे छलफल गरेकामा करिब ८ अर्ब खर्च लाग्ने प्रारिम्भक निष्कर्ष निकालेको दलका प्रतिनिधिहरुसँग जानकारी गराएको छ । कोभिड–१९ लाई समेत मध्यनजर गरेर निर्वाचन तयारी गर्नुपर्ने भएकाले अघिल्ला निर्वाचनमा भन्दा खर्च केही बढ्ने अनुमान आयोगले गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार सो विषयमा प्रारम्भिक खाका बनाउने काम भइरहेको छ । सरकारको सिफारिसमा दुई चरणमा गर्ने गरी तोकिएको निर्वाचनको तयारी गर्न आयोगले निर्वाचन कार्यायोजनासमेत तयार गर्दै गरेको जनाएको छ । आयोगले कार्ययोजनामा निर्वाचन तालिकादेखि निर्वाचन कार्यक्रम र खर्च तथा व्यवस्थापनका विषयलाई समेट्दै छ । यसअघि २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ७ अर्ब ७५ करोड ९५ लाख ४१ हजार खर्च लागेको थियो । सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले तयारी थालेको हो । सरकारले तोकेको मितिमा चुनाव गराउने आफ्नो संवैधानिक जिम्मेवारी भएको चुनावको तयारीमा जुटेको निर्वाचन आयोगले जनाएको छ । ‘आगामी वैशाख १७ गते पहिलो चरणमा, २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्ने गरी सरकारबाट मिति घोषणा भइसकेको छ’ आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले भने । ‘घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन आयोगले आफ्नो आन्तरिक तयारीका कामकारबाही प्रारम्भ गरेका छौं ।’ आयोगले आइतबार संघीय संसद, प्रदेश सभा र स्थानीय तहमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसंग मतदाता नामावली अध्यावधिक र मतदान स्थलका विषयमा परामर्श गरेको छ । दृष्टिन्युज ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *