रुसी विपक्षी नेता नाभाल्नीको समर्थनमा प्रदर्शन दर्जनौँ पक्राउ



  • मस्को । रुसमा जेलमा रहेका विद्रोही नेता एलेक्सी नाभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिबार दर्जनौँ व्यक्तिहरूलाई गिरफ्तार गरिएको छ । रुसी प्रहरीले राजधानी मस्कोमा मानिसहरूलाई घरभित्रै रहन निर्देशन दिएको छ भने नाभाल्नीका निकटस्थहरूलाई शनिबारको प्रदर्शनअगाडि नै गिरफ्तार गरिएको छ । गत आइतबार जर्मनीबाट स्वदेश फर्केका विपक्षी नेता नाभाल्नी पुटिनका कटु आलोचक मानिन्छन् । नाभाल्नीलाई विमानस्थलमा गिरफ्तार गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजना गरेको प्रदर्शन रुसका ६० सहरमा भएको बताइएको छ । शनिबार पक्राउ पर्नेहरूमा नाभाल्नीकी धर्मपत्नीसहितका नाभाल्नीका निकट सहयोगीहरू भएका प्रदर्शनकारी समूहले बताएको छ । रुसी विपक्षी नेता एलेक्सी नाभाल्नी पाँच महिनापहिले रुसको ओम्स्कबाट मस्कोका लागि एक विमानमा आउने क्रममा अकस्मात् बिरामी परेको रिपोर्टपछि उनको विमानलाई आकस्मिक अवतरण गराई प्राथमिक उपचार दिइएको थियो । पछि उनको उपचारका लागि परिवारको आग्रहमा जर्मनीले इच्छा देखाएपछि उनलाई गत अगस्टमा बर्लिन लगिएको थियो । त्यहाँ उपचारका क्रममा उनको खानामा बेहोस पार्ने सोभियतकालीन रसायन नोभिचोकको प्रयोग गरिएको जर्मन ल्याबहरूले दाबी गरेका छन् । करिब पाँच महिनाको जर्मनी बसाइ र उपचारपछि उनी बर्लिनबाट नियमित उडानमार्फत गत हप्ता रुसी राजधानी मस्को फिर्ता भएका थिए । ४४ वर्षीय नाभाल्नीलाई विमानस्थलको पासपोर्ट नियन्त्रणकक्षबाट प्रहरीले हिरासतमा लिएको छ । रासस/एएफपी

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *