निर्वाचन कार्यतालिका र आचारसंहिता जारी गर्दै निर्वाचन आयोग



  • काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको कार्यतालिका र आचारसंहिता जारी गर्ने अन्तिम तयारी गरेको छ । आयोग स्रोतका अनुसार सम्भवतः आजै कार्यतालिका सार्वजनिक हुनेछ । निर्वाचन कार्यतालिका र आचारसंहिता जारी हुने वित्तिकै नेकपाको चुनाव चिन्ह ‘सूर्य’ प्राविधिक रुपमा फ्रिज हुनसक्नेछ । नेकपा विभाजन कानूनीरुपमा टुंगिएको छैन । दुबै पक्षले आफ्नै समूह आधकारिक भन्दै राजनीतिक दल सम्बन्धी ऐनको दफा ५१ अनुसार जवाफ पठाएपछि आयोगले दुबै पक्ष अलग–अलग दल रहेको मान्न नसकिने स्पष्ट पारिसकेको छ । अब दल विभाजन सम्बन्धी व्यवस्थाको प्रक्रिया दुबै समूहले थालेपनि प्राविधिकरुपमा समय नभ्याइने भएकाले सूर्य चिन्ह कसले पाउने भन्ने एकीन हुन नसक्ने अवस्था रहन्छ । यस्तो अवस्थामा दुबै समूहले कि एउटै दलका रुपमा निर्वाचनमा सहभागी बन्नुपर्ने छ वा अलगै चुनाव चिन्ह लिएर निर्वाचनमा जानुपर्नेछ । दल विभाजन सम्बन्धी अवस्थाः नेकपा विभाजनको टुंगो लगाउन पुनः आयोगले परिपत्र गर्न सक्छ । राजनीतिक दल समबन्धी ऐनको दफा ४३ बमोजिम आयोगले विवाद निरुपण गर्नेछ । दफा ४४ ले विवाद निरुपण सम्बन्धी कार्यविधि निर्धारण गरेको छ । यसमा उपदफा १ ले दफा ४३ बमोजिम दलको नाम, छाप, झण्डा वा चिन्ह सम्बन्धी विवाद भए त्यस्तो नाम, छाप, विधान, झण्डा वा चिन्ह दाबी गर्ने दलले केन्द्रीय समितिको चालीस प्रतिशत सदस्यको हस्ताक्षर सहित विवाद प्रारम्भ भएको तीस दिनभित्र आयोग समक्ष आधार तथा प्रमाण सहित दाबी पेश गर्नु पर्नेछ । उपदफा २ अनुसार आयोगले उपदफा १ बमोजिमको दाबीका सम्बन्धमा लिखित जवाफ पेश गर्नको लागि त्यस्तो दाबी तथा प्रमाणको प्रतिलिपि संलग्न गरी अर्को पक्षलाई पन्ध्र दिनको सूचना दिनु पर्नेछ । उपदफा ३ मा उपदफा (२) बमोजिमको सूचना प्राप्त भएपछि त्यस्तो अवधिभित्र सम्बन्धित पक्षले आफ्नो लिखित जवाफ र त्यसलाई पुष्टि गर्ने आधार तथा प्रमाण पेश गर्नु पर्नेछ । तर त्यस्तो अवधिभित्र लिखित जवाफ पेश गर्न नसकेमा सम्बन्धित पक्षको अनुरोधमा लिखित जवाफ पेश गर्न आयोगले दश दिन म्याद थप गर्न सक्नेछ । यही प्रक्रियामा जाँदा पनि २५ दिन लाग्नेछ । यो प्रक्रिया सकेर दफा ४४ बमोजिम लिखित जवाफ आएको मितिबाट ४५ दिन भित्रमा निर्वाचन आयोगले निर्णय गर्नुपर्ने हुन्छ । यो सबै प्रक्रिया पुरा गर्दा अहिलेकै अवस्थामा पनि निर्वाचन आइसकेको हुन्छ । त्यस्तो अवस्थामा दुबै समूहले सूर्य चिन्ह पाउने सम्भावना रहँदैन । नेकपा विवादका कारण सुस्त क्रियाकलापमा सीमित आयोगले रणनीति फेर्दै अघि बढ्न खोजेको छ । आयोगले निर्वाचन तालिका सार्वजनिक गर्दै निर्वाचन प्रयोजनका लागि १० देखि १२ दिनको समय राखेर दल दर्ता गर्न राजपत्रमा सूचना प्रकाशित गर्नेछ । आयोगको निर्णयअनुरुप अब केपी शर्मा ओली र पुष्पकमल दाहालको हस्ताक्षर चल्ने पार्टीलाई मात्र आधिकारिक ठान्नेछ । त्यो प्रक्रिया पूरा गरेको खण्डमा मात्र नेकपा दर्ता हुन्छ । त्यसरी नआएको खण्डमा आयोगले प्रक्रिया नपुगेको भन्दै निर्वाचन प्रयोजन निम्ति दर्ता गर्नेछैन । त्यसपछि स्वतः नेकपा दल, झण्डा, छाप, चिन्ह फ्रिज हुन पुग्छ । आयोगकै पुराना नजिरमा, विवादित र प्रक्रिया नपुगेको दल हुन सक्दैन । कुनै नयाँ दल दर्ता गर्ने हो भने सात दिनभित्र आऊँ भन्न सक्छ । त्यसमा आयोगले उनीहरुको पुरानो नाम, चिन्ह, छाप चाहिँ फ्रिज गर्छ । त्यसमा कानूनी व्यवस्था भन्द पनि आयोगले विशेष निर्णय गरी त्यो अवसर दिन सक्छ । दृष्टिन्युजवाट

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *