रोनाल्डोको दुई गोलको मद्दतमा युभेन्टस जीत


  • रोनाल्डोको दुई गोलको मद्दतमा युभेन्टस जीत

    एजेन्सी । सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोको दुई गोल मद्दतमा युभेन्टसले कोपा इटालियाको सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानलाई उसकै मैदानमा २–१ को ले पराजित गरेको छ । युभेन्टसले एक गोलले पछि परेको अवस्थामा पूनरागमन जित निकालेको हो । यस जितसँगै युभेन्टसले दुई साता अघि इटालियन सिरी ‘ए’ मा भोगेको २–० को हारको बदला लिन सफल भएको छ । मिलानोमा मंगलबार राति भएको खेलमा सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।खेलको नवौं मिनेटमा लोउटारो मार्टिनेजको गोलमा इन्टरले अग्रता लिएको थियो । उनले निकोलो बरेल्लाको पासमा गोल गरेका थिए । २६औं मिनेटमा रोनाल्डोको पेनाल्टी गोलबाट युभेन्टस खेलमा फर्कियो । एस्ले योङले पेनाल्टी बक्समा जुवान कोर्डाडोमाथि फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै युभेन्टसलाई पेनाल्टी प्रदान गरेको थियो । जसमा रोनाल्डो चुकेनन् । ३५औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै युभेन्टसलाई २–१ को अग्रता दिलाए । मिलान स्क्रिनिएरको ब्याक पासमा गोलरक्षक समिर हान्डानोभिक र एलेसान्द्रो बास्टोनीबीच तालमेल नमिल्दा रोनाल्डोले फार पोस्टमा सहजै गोल गरेका थिए । ४३औं मिनेटमा फेडरिको बर्नरडेस्चीको क्रसमा रोड्रिगो बेन्टानकरको प्रयासलाई गोलरक्षक हान्डानोभिकले बचाए । ५७औं मिनेटमा एलेक्सिस सान्चेजको फ्रिकिकमा गोलरक्षक जियानलुजी बुफोन बिट भएपनि मेरिह डेमिरले बललाई गोललाईन बाट क्लियर गर्दै इन्टरको बराबरी टारे । ६८औं र ६९औं मिनेटमा सान्चेजले दुई सुवर्ण अवसर पाएपनि म्याथिज डि लेग्ट र गोलरक्षक बुफोनले बचाए । ७५औं मिनेटमा इभान पेरिसिसको क्रस पासमा निकोलो बरेल्लाको प्रयासमा बुफोन नै बाधक बने । ७८औं मिनेटमा पेरिसिसको प्रयासमा बुफोन नै बाधक बने । त्यसपछि थप गोल निस्कन नसक्दा युभेन्टस २–१ ले विजयी हुन सफल भयो । सेमिफाइनलको दोस्रो लेग युभेन्टसको मैदानमा १० फेब्रुअरीमा हुनेछ । उक्त खेलमा यही नतिजा कायम रहे युभेन्टस फाइनलमा पुग्नेछ । इन्टरलाई फाइनल प्रवेशका लागि कम्तीमा पनि २–० को जित आवश्यक छ । अर्काे सेमिफाइनलको पहिलो लेगमा आज राति एटलान्टा र नेपोलीबीच राति १ः३० बजे प्रतिस्पर्धा हुँदैछ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *