नेकपाको प्रचण्ड – नेपाल पक्षले काठमाडौंमा आज प्रदर्शन गर्दै


  • नेकपाको प्रचण्ड - नेपाल पक्षले काठमाडौंमा आज प्रदर्शन गर्दै

    काठमाडौं । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले आज काठमाडौंमा प्रदर्शन गर्दैछ। यसअघि यो पक्षले माघ ९ गते काठमाडौंमा आमसभा गरेर शक्ति प्रदर्शन गरेको थियो। राजधानीका विभिन्न पाँच स्थानबाट बिहान ११ बजे जुलुस सुरु हुने र सुन्धारामा १२ बजे जम्मा भई मूल जुलुसमा परिणत हुने बताइएको छ। त्यसपछि आमसभालाई सो पक्षका शीर्ष नेताले सम्बोधन गर्नेछन्। पुल्चोकबाट सुरु हुने जुलुसलाई कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त लगायतले नेतृत्व गर्नेछन्। त्यस्तै, त्रिपुरेश्वरबाट सुरु हुने जुलुसलाई अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, चक्रपाणी खनाल, जनार्दन शर्मा लगायतले नेतृत्व गर्नेछन्। माइतीघरबाट सुरु हुने जुलुसलाई अमृत बोहरा, गणेश साह, गिरिराजमणि पोखरेल, भीम आचार्य, मातृका यादव, हरिबोल गजुरेल लगायतले नेतृत्व गर्नेछन्। केशर महलबाट सुरु हुने जुलुसलाई देवप्रसाद गुरुङ, देवेन्द्र पौडेल, भीम रावल, शक्तिबहादुर बस्नेत लगायतले नेतृत्व गर्नेछन्। त्यस्तै, जमलबाट सुरु हुने जुलुसलाई लीलामणि पोख्रेल लगायतले नेतृत्व गर्नेछन्। सुन्धारामा एकीकृत हुने जुलुस वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुलतीसडक, पद्मोदय मोड र प्रदर्शनी मार्ग हुँदै मूल सभास्थलमा प्रवेश गर्नेछ। आजको आमसभामा दुई लाख मानिस सहभागी हुने यो पक्षका नेताहरुको दाबी छ। गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा दुई पक्षमा विभाजित भएको छ। एक पक्षको नेतृत्व प्रचण्ड-माधवले गरेका छन्। अर्को पक्षको नेतृत्व केपी शर्मा ओलीले गरेका छन्। दुवै पक्षले सडकमा उत्रिएर शक्ति प्रदर्शन गरिरहेका छन्। ओली पक्षले माघ २३ गते राजधानीमै आमसभा गरेको थियो।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *