प्रहरीले दिएको यातनाबाट जुम्लाका १३ वर्षीय पदमको ज्यान गयो


  • प्रहरीले दिएको यातनाबाट जुम्लाका १३ वर्षीय पदमको ज्यान गयो
  • काठमाडौं । हिरासतमा प्रहरीले दिएको यातनाबाट जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्यांकोटका १३ वर्षीय बालक पदम बुढाको मृत्यु भएको छ । प्रहरीको ज्यादतीविरुद्ध प्रदर्शनमा उत्रिएका स्थानीयमाथि पनि प्रशासनले दमन गरेको छ, त्यसक्रममा पीडित परिवारका तीन जना घाइते भएका छन् । मोबाईल चोरेको आरोपमा गत १८ माघमा प्रहरीले पदमलाई जिल्ला प्रहरी कार्यालय ल्याएको थियो । जहाँ उनलाई निक्कै यातना दिइयो । प्रहरी कार्यालयबाट घर फर्किएपछि पदमको खुट्टा र शरिर सुन्निनुका साथै निलडाम देखिएपछि परिवारले उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेका थिए । शरिरमा गहिरो चोटका कारण मुटु, फोक्सो र मस्तिष्कमा क्रमशः रगत जम्दै गएपछि बुधबार उनको मृत्यु भएको थियो । अस्पतालकोे विरामी कार्डमा पनि पदमको पैतालामा पाईप र लठ्ठीले धेरै हानेकाले शरिर सुन्निएको उल्लेख छ । मृतक बालकका बाजे धर्मसिंह बुढाले प्रहरीबाटै नागरिक असुरक्षित भएको बताए । ‘जनताको सुरक्षा गर्ने जिम्मा बोकेको प्रहरीले नै त्यो सानो बालखलाई मार्‍यो । दिनदहाडै जघन्य अपराध गर्ने पुलिसमाथि अब हामीले कसरी विश्वास गर्नु ?’, उनले भने । पदमका आफन्त दानबहादुर खत्रीले प्रहरीबाटै समाज त्रसित भएको बताए । ‘नेपालको संविधान २०७२ को धारा (३९) को उपधारा (७) मा बालकलाई कुनै पनि घटनाको विषयलाई लिएर शारिरिक तथा मानसिक यातना दिन नमिल्ने व्यवस्था छ । तर, प्रहरीलेनै मर्ने गरी बालक माथि गरेको जघन्य अपराधले समाज त्रसित भएको छ,’ उनले भने । स्थानीय प्रशासनले पनि प्रहरीको यातनाकै कारण पदमको मृत्यु भएको भन्दै कुटपिट गर्ने प्रहरी जवान कृष्ण अधिकारीलाई बिहिबार निलम्बन गरेको छ । घटनाको छानबिन गर्न गृह मन्त्रालयबाट टोली आउन लागेको जुम्लाका सिडिओ भुपेन्द्र थापाले बताए । नयाँ पत्रिका दैैैनिक बाट    

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *