राजीनामा दिने तयारीमा प्रधानमन्त्री ओली


  • राजीनामा दिने तयारीमा प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पदबाट राजीनामा दिने मुडमा पुगेका छन् । सत्ता टिकाउन जनता समाजवादी पार्टी (जसपा)को शरणमा परेपनि नटिक्ने अवस्था आएपछि राजीनामा दिन तयार भएका हुन् । नेकपा खारेज गर्दै सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताएपछि संकटमा परेका ओलीले सत्ता टिकाउन अनेक प्रयत्न गरे । उनले सत्ता टिकाउन कांग्रेस र जसपाको साथ खोजे । तर, दुवैको साथ नमिल्ने भएपछि ओली मानसिक रूपमा राजीनामा दिन तयार भएका हुन् । शनिबार बालुवाटारबाट देशका विभिन्न सडकहरूको उद्घाटन गर्दै प्रधानमन्त्री ओली आफैँले राजीनामा दिने बताएका छन् । ओलीले भनेका थिए- ‘राजीनामा माग्यामाग्यै छन् त । मागेपिच्छे कसरी राजीनामा दिन सक्छु ? माग्या छ, माग्या छ । ए, बाबा हटाउ न त । समर्थन फिर्ता लिइदेउ भन्छु, लिँदैनन् । राजीनामा आइहाल्छ नि समर्थन फिर्ता गर न ।’ ओली राजीनामा दिन मानसिक रूपमा तयार हुनुका दुई कारण छन् । पहिलो, आफ्नो सत्ता ढाल्न बन्दै गरेको नयाँ समीकरण । दोस्रो, विश्वासको मत लिनु पर्दाको अंकगणित । यी दुवै कुरा आफू अनुकूल नरहेको बुझेपछि ओली राजीनामा दिने मुडमा पुगेको बताइन्छ । शुक्रबार नेपाली कांग्रेसमा ‘आइस–ब्रेक’ हुँदा ओलीको राजीनामा मागियो । यसको मतलव कांग्रेस–माओवादी सत्ता समीकरणनजिक छन् । कांग्रेस–माओवादीले संयुक्त रूपमा जसपासँग छलफल थालेका छन् ।

    गणित यस्तो छ–



  • हाल नेकपा एमालेको मत १२१ छ । जसपाको मत ३२ छ । एमाले र जसपाको मत जोड्दा १५३ हुन्छ । सत्ता टिकाउनका लागि यो पुग्दो मत हो । तर, ओली नेतृत्वको एमाले र जसपाबीच सत्ता समीकरण बनेपनि ओली सत्ता टिक्ने देखिँदैन किनकि, एमालेका १२१ मतमा माधवकुमार नेपालसँग प्रतिवद्ध ३० मतले ‘फ्लोरक्रस’ गर्नेछन् । माधव समूहका ३० मतले ‘फ्लोरक्रस’ गर्दा ओलीसँग १२३ मतमात्र हुन्छ । जुन मत सरकार टिकाउन अपुग हुन्छ । ओलीले यो गणित बुझिसकेका छन् । त्यसैले राजीनामा दिने तयारी गरेका हुन् । एमाले ओलीसँग समीकरण बनाउँदा पनि नयाँ सरकार नबन्ने अवस्था बुझेपछि जसपा ओलीसँग सत्ता सयर नगर्ने निष्कर्षमा पुगेका छन् । ओलीले यो कुरा बुझेका छन् । त्यसैले ब्याक हुन अवस्थामा पुगेका हुन् । प्रधानमन्त्रीले भनेझैँ माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिन नसकेको हो । किनकि, समर्थन फिर्ता लिएपनि नयाँ सरकार बनाउने अवस्था नबनेकाले माओवादी ‘होल्ड’मा थियो । तर, कांग्रेसको निर्णयले माओवादील ‘ब्रेक–थ्रु’को अवस्थामा पुगेको छ । ब्याक सपोर्टमा कांग्रेस छ । कांग्रेस-माओवादी जसपासँग संयुक्त छलफलमा जुटेकाले अब त्रिकोणात्मक सरकार बन्ने सम्भावना देखिन्छ । जसपा पनि नयाँ समीकरणका लागि तयार रहेकाले अब ओली, धेरै दिन प्रधानमन्त्रीका रूपमा रहने छैनन् । त्यसैले, विश्वासको मत लिनेभन्दा पनि राजीनामा दिने मनस्थितिमा पुगेका हुन् । दृष्टि

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *