शरणार्थी प्रकरणमा ओलीका स्वकीय सचिवदेखि आईजीपीसम्म मुछिए


  • शरणार्थी प्रकरणमा ओलीका स्वकीय सचिवदेखि आईजीपीसम्म मुछिए

    काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ ।

    त्यसका लागि गठित आठ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी अभियोजनपत्र तयार गरिरहेको कार्यालयका प्रमुख सहन्यायाधीवक्ता अच्युतमणि न्यौपानेले जानकारी दिए ।

    सरकारी वकिलको कार्यालयले अभियोजन दर्ता गर्ने अन्तिम तयारी गरिरहँदा यस प्रकरणमा जोडिएर नयाँ नामहरु बाहिर आएका छन् । पक्राउ परेका १६ मध्ये केहि आरोपाीले बयानका क्रममा अन्य उच्चपदस्थ अधिकारीलाई पनि पोलेका हुन् ।

    एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्य, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त तथा पूर्व गृहसचिव प्रेमकुमार राई, प्रहरीका आईजीपी वसन्त कुँवर समेतको नाम समेत यस प्रकरणमा जोडिएको छ । 

    नेपालीलाई ‘नक्कली भुटानी शरणार्थी बनाउने प्रपञ्चमा लागेको गिरोहका नाइकेहरूले सिंहदरबार र बालुवाटारमै गएर करोडौँ रुपैयाँ लेनदेन गरेको’ समाचार बाहिरिएका छन् ।

    गिरोहका नाइके सानु भण्डारी र केशव दुलालले सरकारी तहबाट काम गराउन सिंहदरबारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको दाबी गरेको बयानलाई पत्रिकाहरूले प्रमुखताका साथ छापेका छन् ।

    आरोपी भण्डारीले तत्कालीन गृहसचिव राईलाई रकम बुझाएको बयान दिएका छन् । त्यस्तै रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईले प्रेमकुमारको गाडीमा एक करोड रुपैयाँ राख्न लगाएको भण्डारीले खुलाएका छन् । त्यतिबेला बादल गृहमन्त्री र राई सचिव थिए ।

    केशव दुलालले पनि बादलले मन्त्री क्वार्टरमै रकम बुझेको बयानमा दाबी गरेका छन् । बादलले ३ करोड र प्रेमकुमारले ३ करोड लिएको बयान दिएको प्रहरीले स्रोतले बतायो ।

    तत्कालीन प्रधानमन्त्री ओलीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्यले भने उर्जामन्त्री टोपबहादुर रायमाझीका प्रमुख स्वकीय सचिव लीला जिसीमार्फत प्रधानमन्त्री क्वार्टर बालुवाटारमा बोलाएर एक करोड रुपैयाँ लिएको बयान आरोपीहरुले दिएका छन् । 

    ओलीका पूर्वसल्लाहकार डा. अजयक्रान्ति शाक्य र काठमाडौं महानगरका तत्कालीन मेयर विद्यासुन्दर शाक्यका निजी सचिव राजेश्वर स्थापितले पनि एक/एक करोड रुपैयाँ बुझेको दुलालको दाबी छ ।

    यो प्रकरणमा प्रहरीले पूर्वमन्त्री रायमाझी र पूर्व सुरक्षा सल्लाहकार राईलाई पक्राउ गरे पनि सानु र केशवले पोलेका एमाले अध्यक्ष ओलीका प्रमुख स्वकीय सचिव बज्राचार्य, तत्कालिन गृहमन्त्री एवं एमाले उपाध्यक्ष बादल, पूर्वगृहसचिव एवं हाल अख्तियारका प्रमुख आयुक्त रहेका राई, डा. अजयक्रान्ति शाक्य, राजेश्वर स्थापितलगायतसँग सामान्य सोधपुछ पनि गरेको छैन ।



  • यो प्रकरणमा सर्वाधिक नाम आइरहेका आरजु राणा देउवा र मञ्जु खाणलाई पनि कुनै पनि आरोपीले बयानका क्रममा पोलेका छैनन् । केही समयअघि सार्वजनिक भएको एक अडियोमा मञ्जु र आरजुको पनि नाम मुछिएको थियो । 

    उनीहरुलाई पनि रकम दिएको भन्दै आरोपी सन्देश शर्माले पीडित गजेन्द्र बुढाथोकीलाई बताएको अडियो सार्वजनिक भएको थियो । सानु भण्डारी र केशव दुलालले उच्चपदस्थहरुलाई रकम बुझाएको बयान दिएको प्रहरीले तयार गरेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

    यता नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको भूमिका पनि शंकास्पद देखिएको विववरणहरु सार्वजनिक भइरहेका छन् । गिरोहका सदस्य केशव दुलाल र सानु भण्डारीसँग कुँवरको सम्पर्क र भेटघाट भएको अनुसन्धानका क्रममा भेटिएको हो ।

    प्रहरीले अनुसन्धानका क्रममा दुलालको मोबाइलबाट तत्कालीन गृहसचिव टेकनारायण पाण्डेसँग भएको भाइबर च्याटको विवरण फेला पारेको छ, जसमा पाण्डेले कुँवरसँग गिरोहलाई जोडिदिएका छन् ।

    एसएसपीका रुपमा कुँवर अपराध अनुसन्धान कार्यालयको प्रमुख छँदा १८ जेठ २०७९ मा यो प्रकरणबारे पहिलो पटक उजुरी परेको थियो।

    गृह मन्त्रालयका उच्च अधिकारीहरुसँग सम्पर्क रहेको व्यहोरासहित जाहेरी परेपछि प्रहरीले अनुसन्धानका लागि ललितपुरका सानु भण्डारी र पाँचथरका टंक गुरुङलाई नियन्त्रणमा लिएको थियो। 

    त्यही दिन जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएर पक्राउ गरिएका उनीहरुलाई तत्कालीन कार्यालय प्रमुख कुँवरले केही घण्टामै गृह मन्त्रालयको दबाबमा छाडेको पनि खुलेको छ । टोपबहादुर रायामाझीलाई त उनले बुटवलबाट भगाउन नै भूमिका खेलेको आरोप लागेको थियो ।

    प्रहरीले यो प्रकरणमा ५८औं दिन आफ्नो अनुसन्धान सकेर प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ । सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दर्ता गर्ने अन्तिम तयारी गरिरहँदा थप जोडिएर आएकाहरुलाई पनि अनुसन्धान गरिनुपर्ने चौतर्फी दबाव बढेको छ । प्रहरी हिरासतमा रहेका १६ जनासहित ३३ जनालाई प्रतिवादी बनाइएको छ भने २७ करोड ८४ लाखबढी विगो दाबी गरिएको छ । 

    पक्राउ पर्नेहरुमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, नेकपा एमालेका निलम्बित सचिव पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहसचिव (निलम्वित सचिव) टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाणका स्वकीय नरेन्द्र केसी, सन्दीप रायमाझीसहित केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टङ्क गुरुङ, गोविन्द चौधरी र रामशरण केसी रहेका छन् ।

    पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक, इन्द्रजित राईका छोरा नीरजसहितका १७ जना भने प्रहरीको फरार सूचीमा छन् ।दृष्टिन्युज

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *