आर्थिक अवस्था कमजोर भएका पदमले पाए खाद्यान्न सहयोगसँगै जागिर


  • आर्थिक अवस्था कमजोर भएका पदमले पाए खाद्यान्न सहयोगसँगै जागिर

    नेपालगन्ज : दुई सन्तान र एक बयोवृद्ध आमा । श्रीमतिले साथ छोडेपछि सकसमा परेका पदम शाही ज्याला मजदुरी गरेर जीवन गुजारा गर्दै आएका थिए । दैनिक काम खोज्दै गुजारा गर्दै आएका उनको परिवारलाई साँझबिहानको छाक टार्न पनि मुस्किल थियो ।

    बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ३ मा भाडाको घरमा बस्दै आएको पदमको परिवारको अवस्थाबारे केही दिनअघि खबरगन्जले फेसबुक पेजमा जानकारी राखेर सहयोगको आह्वान गरेको थियो ।

    शुक्रबार खबरगन्जको टिमले विभिन्न मनकारी व्यक्तिहरुबाट संकलित सहयोगसहित पदमको आगनमा पुग्दा पदम भावविह्वल भए । सन्चारकर्मी खगेन्द्र दाहालले खाद्यान्न, लत्ताकपडा र छोराछोरीका लागि शैक्षिक सामग्री हस्तान्तरणपछि जागिरकोसमेत अफर गर्दा पदमले आँशु रोक्न सकेनन् ।



  • पदमलाई कुखुरा व्यवसायी अगुवा ईश्वर सुवेदीले आफ्नो फार्ममा खानेबस्ने सुविधासहित मासिक १५ हजार तलबसहितको जागिर दिने घोषणा गरेका हुन् । पदमले उक्त अफर सुनेपछि आफूले इमानदार भएर काम गर्ने बताए । (छोराछोरीका लागि म जस्तोसुकै मिहिनत गर्छु, उनले भने ।

    आर्थिक रुपले विपन्नहरुको अवस्था उजागर गर्दै मनकारीहरुबाट सहयोग जुटाउने अभियान चलाइरहेको खबरगन्जले पदम शाहीका लागि सुत्ने खाट, न्यानो लत्ताकपडा, खाद्यान्न र शैक्षिक सामग्री जुटाएर हस्तान्तरण गरेको हो । नेपाल पत्रकार महासंघका उपाध्यक्ष करुणा शाहले सुत्ने खाट र बिस्तरा सहयोग उपलब्ध गराएकी हुन् ।

    यसैगरी, नेपालगन्जका व्यवसायीहरु पूणर्प्रसाद गौतम, जनता मावि खजुरा पूर्व विद्यार्थी समाज, बागमति स्पोर्टस् क्लब, भरत जैसी, वरिष्ठ छालारोग विशेषज्ञ डा. बद्री चापागाई लगायतले पदमका लागि सहयोग उपलब्ध गराएका हुन् ।
    खबरगन्जको प्रयासमार्फत यसअघि अमेरिकामा रहेका लिलबहादुर थापाले खजुरा क्षेत्रका तीन परिवारलाई खाद्यान्न, लत्ताकपडा र घरायसी सामग्री राहतस्वरुप उपलब्ध गराएका थिए ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *