सम्झाई बुझाई गर्ने क्रममा प्रहरीमाथि आक्रमण,दुई जना घाइते


  • सम्झाई बुझाई गर्ने क्रममा  प्रहरीमाथि आक्रमण,दुई जना घाइते

    सुर्खेत । रुकुम पश्चिमको बाँफिकोटमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण हुँदा दुई जना घाइते भएका छन् । आइतबार बेलुका ईलाका प्रहरी कार्यालय बाँफिकोट गाउँपालिका–३, स्यार्पुमा ड्युटीमा खटिएका प्रहरीमाथि आक्रमण हुँदा प्रहरी जवान महेन्द्र बहादुर शाही र हिमराज खड्का घाइते भएका हुन् ।

    बाँफिकोट गाउँपालिका–५ का ३४ वर्षीय हिरालाल केसीलाई १२–१३ जनाको समूहले कुटपिट गरेका थिए । त्यसपश्चात घटनास्थल पुगेको प्रहरी टोलीमाथि सम्झाई बुझाई गर्नेक्रममा आक्रमण भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिए ।



  • उनले भने, ‘घटनास्थल पुगेर सम्झाइ–बुझाइ गर्न खोज्दा उल्टै प्रहरीमाथि आक्रमण भयो । उनीहरूले प्रहरी माथि नै हातपात गर्दै ढुङ्गा समेत प्रहार गरे । हाम्रो साथीहरू घाइते हुनुभयो ।’

    आक्रमणमा परी घाइते भएका प्रहरी जवान शाहीको ढाडमा र खड्काको टाउकोमा चोट लागेको छ । उपचारका लागि शनिबार राती जिल्ला अस्पताल सल्ले ल्याईएका उनीहरुलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेजमा लगिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । प्रहरी माथि हातपात तथा कुटपिट गर्ने व्यक्तिहरु फरार रहेको र उनीहरुको खोज तलास भईरहेको प्रहरीको भनाई छ । 

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *