काठमाण्डौं : समयमा नै सरुवा हुन नसक्दा नेपाल प्रहरीका सातै प्रदेश नेतृत्वविहिन बनेको छ भने सबै प्रदेश निमित्तको भरमा चलिरहेको छ ।
प्रहरीका तीन प्रदेश गण्डकी, सुदुरपश्चिम र कर्णाली ४ चैतदेखि नै रिक्त छन भने अन्य चार प्रदेशमा कार्यरत डीआईजीहरु पनि एआईजीमा बढुवा भएपछि एक सातादेखि रिक्त छन् । तर, गृह मन्त्रालयले सरुवा निकाल्न भने सकेको छैन ।
सात प्रदेशका लागि १० डीआईजीबीच प्रतिस्पर्धा छ । सबै डीआईजी प्रदेश नै जान शक्तिकेन्द्रमार्फत दबाब दिइरहेका छन् । कोशी, मधेस र लुम्बिनीका लागि तिव्र प्रतिस्पर्धा छ । यी प्रदेशको सरुवाका लागि आर्थिक चलखेल समेत भएकाले सरुवामा ढिलाई भइरहेको स्रोत बताउँछ । प्रदेशका दाबेदार डीआईजीहरुमा सिद्धिबिक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, डम्बर बिक, हिमालय श्रेष्ठ, दिनेश आचार्य, ईश्वर कार्की, अरुण पौडेल, राजेन्द्र भट्ट र गोविन्द थपलिया छन्।

प्रहरी महानिरीक्षक र गृहमन्त्रीबीच सरुवाबारे बारम्बार छलफल हुँदा पनि सहमति हुन सकेको छैन । स्रोतका अनुसार सात जनालाई प्रदेश र बाँकी तीनलाई भरतपुर तालिम केन्द्र, उपत्यका ट्राफिक र अन्तर्राष्ट्रिय विमानस्थलमा खटाउनेबारे समेत छलफल भइरहेको छ ।
हाल ती कार्यालयमा एसएसपीलाई प्रमुख बनाइएको छ । ती कार्यालयमा विगतमा डीआईजी नै खटाइँदै आइएको थियो ।