बंगलादेश भ्रमणमा मोदी जाँदा विरोध प्रदर्शन, पाँच जनाको मृत्यु



  • काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बंगलादेश भ्रमणका क्रममा भएको विरोध हिंसात्मक भएको छ ।
    बंगलादेशको ५०औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा आयोजित उत्सवमा सहभागी हुन दुई दिनका लागि मोदी शुक्रबार राजधानी ढाका पुगेका हुन् । एउटा इस्लामिक धार्मिक संगठनले शनिबार पनि विरोध प्रदर्शनको कार्यक्रम राखेको छ भने आइतबार हडताल गर्ने घोषणा गरेको छ । शुक्रबार भएको प्रदर्शनमा प्रहरीले कारबाही गर्दा चटगाउँमा चार जना र ब्राह्मनबारियामा एकसहित कम्तीमा पाँच जनाको मृत्यु भएको प्रहरी तथा स्थानीय स्रोतलाई उद्धृत गर्दै बीबीसी बंगलाले जनाएको छ ।   ढाकासहित विभिन्न स्थानमा प्रहरीसँग भएको झडपमा कैयौँ मानिसहरू घाइते भएको बताइएको छ । बीबीसीका अनुसार ढाकामा विगत केही सातादेखि वामपन्थी र दक्षिणपन्थी संगठनहरूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न भ्रमणको छुट्टाछुट्टै विरोध गरिरहेका थिए । ढाका विश्वविद्यालयमा विद्यार्थीहरूले पनि मोदीको भ्रमणको विरोध गर्दै आएका थिए । विदेशी नेताहरूको भ्रमण तथा देशको स्वतन्त्रता दिवसलाई दृष्टिगत गरेर ढाकामा सुरक्षाव्यवस्था कडा पारिएको थियो । ढाकामा शुक्रबारको प्रार्थनापछि मानिसहरूले मोदीविरुद्ध नारा लगाउन तथा तोडफोड गर्न थालेपछि प्रहरीले कारबाही गरेको बताइएको छ । दक्षिणपन्थी इस्लामिक संगठनहरूले मोदीको नीति ‘मुस्लिम समुदायविरोधी’ भएको आरोप लगाउँदै विरोध गरिरहेका छन् । भारतले बंगलादेशसँग ‘हेपेर व्यवहार गर्ने गरेको’ आरोप लगाउँदै प्रदर्शनकारीहरूले ‘भारतीय आक्रामकता’को विरोध गरेको दाबी गरेका छन् ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *