दैलेख : दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । शुक्रबार साँझ कालिकोटबाट सुर्खेततर्फ आउँदै गरेको भे १ ज १०५६ नम्बरको जीप दैलेखको आठबीस नगरपालिका–८ सेरावाडास्थित कर्णाली राजामार्गमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रवक्ता पुष्पराज रोकायाका अनुसार दुर्घटनाका घाइतेमध्ये ६ जनालाई एम्बुलेन्समार्फत कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लगिएको छ भने थप ५ जनालाई पनि सुर्खेत लगिदै छ । ४ जनाको अवस्था सामान्य भएका कारण उपचारपछि घर पठाइएको छ ।
तीव्र गतिका कारण जीप अनियन्त्रित भइ सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटना लगत्तै चालक फरार रहेको र उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।




