नेपाल प्रहरी र सशस्त्र प्रहरीमा १५ हजार दरबन्दी रिक्त


  • नेपाल प्रहरी र सशस्त्र प्रहरीमा १५ हजार दरबन्दी रिक्त
  • काठमाडौं ।

    नेपाल प्रहरीमा ६ हजार पाँच सय र सशस्त्र प्रहरीमा आठ हजार पाँच सय गरी अहिले १५ हजार दरबन्दी रिक्त छन् । भद्रगोल वृत्तिविकास योजनाका कारण दुवै संगठनमा राजीनामा दिनेको लहर चलेको छ । नेपाल प्रहरीमा अहिले इन्स्पेक्टरका सय दरबन्दी रिक्त छन् । त्यसमध्ये ६० प्रतिशत पदमा भर्नामार्फत र ४० प्रतिशतमा बढुवामार्फत पदपूर्ति हुन्छ । बढुवाबाट पूर्ति गरिने ४० पदमा बढुवा गर्न प्रहरी नेतृत्वलाई हम्मे भएको छ । किनभने डेढ सयभन्दा धेरै सइ बढुवाका दाबेदार छन्, जो १५ वर्षभन्दा ‘जेठा’ सइ हुन् । ३० जना त १७ वर्षदेखि सइमा कार्यरत छन् । यसपटकको बढुवामा डेढ सयमध्ये ४० जना मात्र पर्नेछन्, अरूले बढुवाका लागि अझै कम्तीमा दुई–तीन वर्षसम्म कुुर्नुपर्नेछ ।



  • प्रहरीको जागिर अवधि ३० वर्ष हुन्छ । त्यसमा आधाभन्दा धेरै अवधि एउटै पदमा बिताउनुपर्ने बाध्यता प्रहरीका कनिष्ठ अधिकृतहरूको छ । जसले उनीहरूमा नैराश्यता मात्र बढाएको छैन, प्रहरी सेवामै नकारात्मक असरसमेत परेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर भन्छन्, ‘प्रहरीको सइबाट इन्स्पेक्टर बढुवामा समस्या छ, यो समस्या कसरी समाधान गर्ने भन्ने विषयमा पटक–पटक छलफल भएको छ । तर, अहिलेसम्म समस्या समाधान हुन सकेको छैन ।’ प्रहरीका कनिष्ठ अधिकृत अर्थात् असइ र सइ संगठनका खम्बा मानिन्छन् । अपराध अनुसन्धानदेखि शान्ति–सुरक्षाका काममा सधैँ अग्रपंक्तिमा नेतृत्व गरेर उनीहरू नै पुग्छन् । तर, वृत्तिविकासमा रहेको समस्याले उनीहरूलाई प्रहरी संगठनप्रति नै वितृष्णाको अवस्था ल्याएको छ । प्रहरीमा चार हजार दुई सय ९६ दरबन्दी भएका सइका समस्या समाधानका लागि प्रहरी नेतृत्वबाट पहल हुन सकेको छैन । इन्स्पेक्टरका रिक्त पदमा ५० प्रतिशत भर्नाबाट र ५० प्रतिशत बढुवाबाट पूर्ति गरिए सइको बढुवा जाम खोल्न केही सहज हुने बहस प्रहरीमा हुँदै आएको छ । ‘म सइ बन्दा मेरो छोरा भर्खर जन्मेका थियो । अहिले ऊ १५ वर्ष भयो । तर, म सइको सइ नै छु,’ नेपाल प्रहरीमा तल्लो तहका प्रहरी कर्मचारीको वृद्धिविकासप्रति असन्तुष्टि पोख्दै एक सइले भने, ‘मलाई हेर्ने छोराका नजर कस्तो बन्यो भने बुबाको जागिर भनेकै सइ रहेछ । किनकि उसले मेरो काँधमा दुईवटा ताराबाहेक देख्नै पाएको छैन ।’ सइबाट इन्स्पेक्टर मात्र होइन, जवानबाट हवल्दारको बढुवामा पनि यस्तै अवस्था छ । जवानबाट हवल्दार हुन १२ देखि १५ वर्ष लाग्ने गरेको छ । एउटै पदमा लामो समय रहँदा जागिरप्रति नैराश्यता बढाउने भएकाले नेपाली सेना र सशस्त्र प्रहरीले बीचमा अन्य पद पनि सिर्जना गरेको छ । तर, नेपाल प्रहरीमा भने त्यस्तो पहल हुन सकेको छैन । नेपाल प्रहरीले गत वर्ष जवान र हवल्दारमा गरेको सर्वेक्षणमा पनि यस विषयमा धेरै गुनासा आएका थिए । त्यसकै आधारमा जवानबाट हवल्दारमा बढुवालाई छिटो र पारदर्शी बनाउनेबारे छलफल भइरहेको प्रहरी प्रवक्ता एसएसपी कुँवर बताए । समयमा बढुवा नहुँदा जवानमा भर्ना भएकाहरू ३० वर्षसम्म बढीमा सइसम्म मात्र पुग्छन्, धेरै त असइमै अवकाश पाउँछन् । त्यसैले प्रहरी संगठनभित्र धेरैले पेन्सन अवधि पुगेलगत्तै राजीनामा दिने लहर चलेको छ । महानगरीय प्रहरी परिसरमा कार्यरत एक प्रहरी हवल्दार छन् । सूचनामा चुस्तता उनको विशेषता हो । उनकै सूचनाका कारण राजधानीमा हुनै लागेका केही ठूला दुर्घटना पनि टरेको छ । जस लिएर उनका हाकिमले पनि फुली थापे । सामाजिक प्रतिष्ठा बढाए । आइजिपी हुने बाटो सुनिश्चित बनाए । तर, हवल्दारको दुःख जहाँको तहीँ छ । उनको वृद्धिविकास रोकिएको १३ वर्ष भयो । ‘फेरिएपछिका हाकिम हाम्रो टाउकोमा बुट बजार्छन् । सूचना झार्छन् । जस आफैँ लिन्छन् । फुली थाप्छन्, सामाजिक प्रतिष्ठा कमाउँछन् । तर, हाम्रो अवस्था जहाँको तहीँ छ । के गर्नु चेन अफ कमान्ड मान्नै प¥यो,’ भद्रगोल वृद्धिविकासप्रति उनले असन्तुष्टि जनाउँदै भने, ‘एसएसपीको बढुवा रोकियो भने तुरुन्तै डिआइजीको दरबन्दी थपिन्छ । डिआइजीबाट एआइजी हुन सकिएन भने रातारात एआइजीको दरबन्दी थपिन्छ । तर, १३ वर्ष भयो हाम्रो बढुवा हुन नसकेको, यसतर्फ कसैको ध्यान गएको छैन ।’सुरक्षाकर्मीको सेवा–सुविधा त कम छ नै, साथै बढुवामा समेत लामो समय लाग्ने भएकाले प्रहरी सेवामा उल्लेख्य आकर्षण बढ्न नसकेको प्रहरी अधिकारीहरू बताउँछन् ।आजको नयाँ पत्रिका द‌ैनिकमा याे खबर छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *