नयाँ दल गठन गर्ने गृहकार्यमा नेपाल- खनाल समुह


  • नयाँ दल गठन गर्ने गृहकार्यमा नेपाल- खनाल समुह

    काठमाडौं । विवाद चर्किंदै गएपछि नेपाल कम्युनिस्ट पार्टी (एमाले) फुटनजिक पुगेको छ । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले ‘समानान्तर कमिटी गठन गरेको र पार्टी हितविपरीत कार्य गरेको’ भन्दै कारबाही प्रक्रिया अघि बढाएपछि नेपाल समूह छुट्टै दल गठन गृहकार्यमा जुटेको छ । पार्टीलाई विधान, पद्धतिअनुसार सञ्चालन गर्नुपर्ने माग नेपाल समूहको छ भने संस्थापन पक्षले विधि पद्धतिको ‘नक्कली कुरा’ गरेर समानान्तर गतिविधि र पार्टी हितविपरीत कार्य गरिरहेको आरोप ओली समूहले लगाउँदै आएको छ । नेपाल समूह आफैं पार्टी फुटाउने गृहकार्यमा जुटेको आरोप ओली पक्षको छ । स्रोतका अनुसार ओलीले नेपाल समूहका नेतालाई कारबाही गर्ने प्रक्रिया अघि बढाएपछि नेपाल समूहले नयाँ दल दर्ता गर्ने गृहकार्य अघि बढाएको हो । पूर्वप्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता नेपालले नयाँ दल दर्ता, चुनाव चिह्न के राख्नेबारे आफू निकटका नेतासँग छलफल सुरु गरेको स्रोतको दाबी छ । ‘पार्टी प्रमुख केपी ओलीले छानीछानी नेपाल समूहका नेतालाई कारबाही गर्न थालेपछि अर्को विकल्पको खोजी सुरु भएको हो । अब नयाँ दल दर्ता गरेर आगामी निर्वाचनमा सहभागी हुनेगरी संगठन निर्माणमा जुटछौं,’ एमाले स्रोतले भन्यो, ‘यदि केपी ओलीले आफ्नो गतिविधिमा सुधार गर्नुभएन भने नयाँ दल दर्ता गराउँछौँ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *