‘जसपा’ ठाकुरको हस्ताक्षर अभियानमा महतो समुहको अवरोध


  • 'जसपा' ठाकुरको हस्ताक्षर अभियानमा महतो समुहको अवरोध

    काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सघाउनका लागि सुरु गरेको हस्ताक्षर अभियानमा महन्थ ठाकुर पक्षकै नेताहरुमा अन्तरविरोध देखिएपछि ठाकुरको अभियानमा ‘ब्रेक’ लागेको छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मतमा सघाउनुपर्ने अध्यक्ष ठाकुरको अभियानमा साथ दिइरहेका जसपाका वरिष्ठ नेता राजेन्द्र महतोका साथै कार्यकारिणी सदस्यहरु शरतसिंह भण्डारी र निर्जला राउतले हस्ताक्षर गरेका छैनन् । जसपाका अध्यक्ष ठाकुरले त्यो हस्ताक्षरलाई दुरुपयोग गर्ने सम्भावना नेता महतोले देखेपछि हस्ताक्षर गर्न इन्कार गरेको महतो निकट एक नेताले बताए । जसपाका अध्यक्ष ठाकुरले दुईटा पत्रमा हस्ताक्षर गराइरहेका छन् ।एउटा पत्रमा लुम्बिनीमा पार्टीका प्रदेश सांसद तथा पार्टीका नेतामाथि गरेको कारवाही फिर्ता र प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने विषयमा निर्णय लिन हस्ताक्षर गराएका छन् भने अर्को पत्रमा आफुले पार्टीमा एकल अधिकार लिनका लागि हस्ताक्षर गराएका छन् । एकल अधिकारका लागि हस्ताक्षर गराउँदा वरिष्ठ नेता महतो झस्केका छन् । अध्यक्ष ठाकुरले पार्टीमा एकल अधिकार लिएपछि त्यसको दुरुपयोग गर्न सक्ने आशंका महतोको छ । एकल अधिकारको प्रयोग गर्दै महन्थ ठाकुर संसदीय दलको नेता पनि बन्न सक्ने नेता महतोको बुझाइ रहेको उनी निकट नेताले बताए । जसपामा महतो संसदीय दलका नेता बन्न चाहेका छन् । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने अभियानमा सघाउनका लागि महतोले आफूलाई संसदीय दलको नेता बनाइदिन शर्त राखेको ठाकुर निकट एक नेताले दाबी गरे । जसपामा महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो संसदीय दलका नेताका दाबेदार छन् । संसदीय दलको नेता बनाउनका लागि महतोले महन्थ ठाकुरको साथ खोजेका छन् । तर, ठाकुरले हालसम्म साथ दिने प्रतिवद्धता जनाएका छैनन् । संसदीय दलको नेता बनाउने निश्चित नभएसम्म हस्ताक्षर नगर्ने अडानमा महतो रहेको बताइएको छ ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *