झापामा अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन


  • झापामा अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन

    झापा । झापामा लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ । मेडिकलबाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिन्डर सङ्कलन थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले बताउनुभयो । कोभिड–१९ महामारीको दोस्रो लहरले सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढिरहेको छ । विभिन्न उद्योग र ग्यारेजबाट प्रहरी टोलीले सिलिन्डर सङ्कलन गरी डिलरमा पुर्याएको छ । दमकको मातृका ट्रेडर्स र विर्तामोडको कपुरी ब्रदर्स तथा जलकन्या ट्रेडर्समा ती सिलिन्डर रिफिलका लागि पठाइएको थापाले जानकारी दिनुभयो । उहाँले प्रयोगविहीन र लुकाइएका अक्सिजन सिलिन्डरको खोजी कार्य जारी रहेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सङ्कलन गरिएका सिलिन्डर निजी तथा सरकारी अस्पतालमा बिरामीको चाप र आवश्यकता हेरेर उपलब्ध गराइने जनाउनुभयो । ‘जुन अस्पतालमा अक्सिजन अभाव हुन्छ, त्यहीँ उपलब्ध गराउँछौँ’, प्रजिअ तिम्सिनाले भन्नुभयो, ‘अक्सिजन अभावमा सङ्क्रमितलाई सकस नहोस् भनेर उद्योगधन्दाका सिलिन्डर सङ्कलन गर्न थालेका हौँ ।’

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *