पश्चिम तराईका थारु समुदायले अटवारी मनाउँदै


  • पश्चिम तराईका थारु समुदायले अटवारी मनाउँदै
  • नेपालगन्ज ६ भदौ । पश्चिम नेपालको तराई क्षेत्रमा बसोवास गर्ने चौधरी-डगौरा समुदायमा आज देखि ‘अटवारी’ पर्व शुरु भएको छ। आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वको रुपमा लिइने ‘अटवारी’ पर्व खास गरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोवास गर्ने चौधरी- डगौरा समुदायमा परम्परागत रूपमा मनाइने गरिन्छ। यो समुदायमा आइतबारको दिनलाई ‘अटवार’ नामले चिन्ने हुँदा आज आइतबार यो पर्व प्रारम्भ हुन्छ। हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिनबाट प्रारम्भ हुने यो पर्वपछि उक्त समुदायले आफ्नो लोक संस्कृतिसँग सम्बन्धित नाचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ भएको मान्दछन्। वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सदको समयको उपयोग गर्दै टोलटोलमा सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्दछन् । यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाइ दिनभर व्रत बस्ने प्रचलन छ। व्रत बसेकाले साँझपख आ-आफ्नो घरमा मीठो परिकार पकाइसकेपछि पूजामा बस्ने गर्दछन्। पूजाको कामपछि पकाइएका खानाका परिकार व्रतालुले प्रसादको रूपमा ग्रहण गर्ने र भोलिपल्ट बिहान पकाइएको परिकार विवाहिता आफ्नी छोरी, दिदीबहिनीको घरसम्म पुर्याउने प्रचलन रहेको छ। पूजाको काम सकिएपछि छोरी बहिनीका लागि छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ दिने भनिन्छ। अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ। महाभारतको युद्धमा पराजित भइ बनवास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनवासमा रहेको समयमा देखाएको बहादुरीको खुशीयाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन शुरु भएको चौधरी समुदायका अगुवाहरु बताउँछन्। यो पर्वको दिनदेखि ‘बड्कीमार’ अर्थात् महाभारतको कथावाचन गर्ने समय पनि आरम्भ भएको विश्वास यो समुदायमा गरिन्छ।

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *