परिवारलाई पीडामा देख्न अत्यन्तै गाह्रो हुन्छ : अभिषेक बच्चन


  • परिवारलाई पीडामा देख्न अत्यन्तै गाह्रो हुन्छ : अभिषेक बच्चन

    लकडाउनको समयमा अभिनेता अभिषेक बच्चन वेब सिरिज ‘ब्रीद’ र चलचित्र ‘लूडो’मा देखिए । पछिल्लो समय चलचित्रको पर्दामा त्यति नदेखिएका अभिषेक लकडाउनदेखि पुनः चलचित्रको पर्दामा सक्रिय रूपमा देखिन थालेका छन् । यो समायवधि अभिषेकको अभिनय करियरका लागि राम्रो रह्यो भने पारिवारिक परिवेश केही तनावपूर्ण नै रह्यो । बुवा अमिताभसहित पत्नी ऐश्वर्या र छोरी आराध्यालाई कोरोना संक्रमण भएपछि सबैजना अस्पताल भर्ना हुनुपर्‍यो । बिहीबार (९ अप्रिल) मा उनको अर्को चलचित्र ‘द बीग बुल’ डिज्नी हट स्टारमा रिलिज भएको छ । चलचित्र र कोरोना कहरका बारेमा अभिषेकले नवभारत टाइम्ससँग कुराकानी गरेका छन् । ० ० ०
    हर्षद मेहताको जीवनमा आधारित ‘द बीग बुल’को पात्रमा ढल्न कतिको मिहिनेत पर्‍यो ? यो धेरै व्यक्तित्वबाट प्रभावित भएर बनेको एउटा काल्पनिक पात्र हो । बायोपिक चलचित्रमा काम गर्दा तपाईं (कलाकार) त्यही पात्रजस्तो बन्नुपर्ने दबाब हुन्छ । तर, यो काल्पनिक पात्र भएकाले छुट मिल्छ । मलाई यसको स्क्रिप्ट बलियो लागेको थियो । त्यसैले पनि होला, हाम्रो काम पनि राम्रो भयो । मेरो कोसिस भनेको पात्रलाई सकेसम्म कन्भिन्सिङ बनाउन सकूँ भन्ने हो । कारण, दर्शकले त्यो पात्रलाई विश्वास गरून् । करियरका हिसाबमा गत वर्ष तपाईंका लागि राम्रो रह्यो । तर, तपाईं र तपाईंको परिवार कोरोनाको चपेटामा पर्यो । कोरोनालाई हराएर पनि तपाईं नियमित छायांकनमा व्यस्त भइरहँदा डर लागेन ? सबै ठिक हुन्छ भन्ने कुरा भने दिमागमा सधैँ खेलिरहन्थ्यो । छायांकनस्थलमा सबैले सरकारले दिएको निर्देशन पालना गरिरहेका छन् कि छैनन् होला भन्ने सोचिरहन्थेँ । तर, यो डर आफ्नो लागिभन्दा पनि परिवारको स्वास्थ्यको लागि थियो । म अस्पतालमा हुँदा पनि आफ्नोभन्दा परिवारको चिन्ता भइरहन्थ्यो । अस्पतालमा मसँगै भर्ना भएका बुवा, ऐश्वर्या र आराध्या चाँडो निको भएर गए पनि हुन्थ्यो, घरमा आमा कस्तो हुनुहुन्छ होला भन्ने मात्रै चिन्ता लागिरहन्थ्यो ।
    तपाईं पुनः छायांकनमा फर्किसक्नुभएको छ, कुनै खास सावधानी अपनाउनु हुन्छ ? अवश्य । अहिले सबैलाई कोभिड सकिसक्यो र हामी सामान्य अवस्थामा फर्किसक्यौँजस्तो लाग्छ । तर, यस्तो होइन ।  तपाईं आफैँ हेर्नसक्नु हुन्छ कि कोभिडको केस फेरि बढ्न थालिसकेको छ । यसको कारण भनेकै मैले अघि भनेजस्तै अब सबै सामान्य भइसक्यो भन्ने सोच नै हो । म सबैलाई अपिल गर्न चाहन्छु, कृपया मास्क लगाएर सामाजिक दूरी कायम गर्नुहोला । कोभिड सकेको छैन । यो एउटा नियम हो भनेर नभई आफ्नो र परिवारको सुरक्षाको लागि हो भन्ने सोचेर नियम पालना गरौँ । म आफ्नो अनुभवले भन्दै छु, परिवारलाई पीडामा देख्नु अत्यन्तै गाह्रो हुन्छ । अहिले म नयाँ चलचित्रको छायांकनमा छु । तर, हामीले सेटमा सुरक्षाका सबै नियमको पालना गरिरहेका छौँ । चलचित्र उद्योगका लागि धेरै गाह्रो समय हो, यो । हलमा रिलिज गर्नुपर्ने चलचित्रहरू डिजिटल प्लेटफर्ममा रिलिज गर्नुपर्यो, यसमा तपाईं के भन्न चाहनु हुन्छ ? यो सबैका लागि नै गाह्रो समय हो, खासगरी चलचित्रका लागि । किनभने, हलहरू लामो समय बन्द थिए । विस्तारै खुल्न थालेका छन् । यति बेला दर्शकमा हलमा गएर चलचित्र हेर्न जान सुरक्षित हुन्छ भन्ने सोच ल्याउनु जरुरी छ । अहिलेको समयमा यो एकदमै गाह्रो काम हो । तर, हाम्रो कोसिस जारी छ । धन्य, अहिले पनि चलचित्रहरू निर्माण भइरहेका छन् । हलमा नभए पनि डिजिटल प्लेटफर्ममा रिलिज भइरहेका छन् । ‘द बीग बुल’ पनि हामीले हलकै लागि बनाएका थियौँ । तर, पहिलो लकडाउनमा यसका निर्माता अजय देवगनले यसलाई डिजिटल प्लेटफर्ममा रिलिज गर्ने निधो गरे । तर, हलहरू पुनः सञ्चालनमा आएर इन्डष्ट्रिले पुनः गति लेओस् भन्ने चाहना छ । तपाईंको ‘बब विश्वास’ र ‘दसवी’को स्थिति कस्तो छ ? ‘बब विश्वास’को छायांकन सकेर अहिले पोस्ट प्रोडक्सनको काम भइरहेको छ । चाँडै रिलिज मितिबारे थाहा हुनेछ । ‘दसवी’को छायांकन ५० प्रतिशत सकिइसकेको छ । यो महिनाको अन्तिमसम्म यसको छायांकन पनि सकिन्छ । यो दुवै प्रोजेक्ट मेरो मनको निकै नजिक छ । मलाई यसमा काम गरेर धेरै मजा आयो । ‘द बीग बुल’ भनेर हर्षद मेहतालाई चिनिन्थ्यो र यसैमा गत वर्ष आएको वेब सिरिज ‘स्क्याम १९९२’ पनि धेरै रुचाइयो । अहिले चलचित्रमा तपाईं देखिँदै हुनुहुन्छ । तपाईंको तुलना हुन्छजस्तो लाग्छ ? होइन, होइन ! मैले ‘स्क्याम १९९२’ पनि हेरेको छु । हंसल मेहताले राम्रो वेब सिरिज बनाएका थिए र त्यसका सबै कलाकारले धेरै राम्रो अभिनय गरेका छन् । उहाँहरूले धेरै राम्रो सिरिज बनाएर त्यसमा सफलता कमाउनु भएकोमा म निकै खुुसी छु । तर, म त्यसमा कुनै तुलना वा चुनौती देख्दिनँ । त्यो एउटा वेब सिरिज थियो भने हामीले चलचित्र बनाएका छौँ । दुवै एकार्कासँग फरक छन् । बाह्रखरी  

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *